भुइँमान्छेको पनि अस्पताल: गङालाल अस्पताल ।


भुइँमान्छेको पनि अस्पताल: गङालाल अस्पताल ।

केही वर्ष अगाडि मलाई लाग्थ्यो समयमा उपचार पाउनु भाग्य हो । तर अचेल बुझ्दैछु कि समयमा उपचार प्रदान गर्नु कुनै पनि अस्पतालको क्षमता हो । त्यो संस्थाको कला हो । त्यहाँको नेतृत्वको कार्यकुशलता हो । अन्तत: कुनै पनि संस्थाको कुशल कार्यसम्पादनले सेवा प्रवाहको गुणस्तर निर्धारण गर्ने गर्छ । एक दिनको कुरा हो म एक जना बिरामीको लागि गङालाल अस्पतालको एमर्जेन्सी पुग्छु । त्यहाँ घटित दृश्य मलाई रोचक लाग्छ । 

सहिदको नामबाट राखिएको यो अस्पतालको प्रारम्भिक अनुभवले नै निकै जनप्रेमी प्रतीत भयो । सहिदको नामको पनि सम्मान भएको महसुस गरेँ । सहिदको एउटा सपना भनेको हरेक भुइँमान्छेले पनि समान गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरोस् भन्ने पक्कै हुन्छ । सो कुराको एउटा उदाहरण गङालाल अस्पताल रहेछ।

कल्पना गर्नुहोस् तपाईँ  कसैलाई चिन्नुभएको छैन । तपाइँ एउटा ग्रामीण परिवेशको भुइँमान्छे हो । नेताहरुको संगत छैन । कोही पनि सानो वा ठूलो ओहदाको डाक्टरलाई चिन्नुहुन्न । कसैलाई भनसुन गर्ने ल्याकत छैन । तपाइँ निकै सामान्य मान्छे हो । यो देशको नागरिक हो । चुनावमा खोजिने फगत एउटा भोट मात्रै हो । 

तपाइँलाई एक्कासी केही घण्टादेखि छाती दुख्छ । र गङालालको एमर्जेन्सी पुग्नुहुन्छ । के तपाइँको उपचार ढिलो हुन्छ भन्ने लाग्छ ? अधिकांश सरकारी कार्यालय र निजी कम्पनीका अफिसको अनुभव बोकेको व्यक्तिलाई कतै उपचारको लागि भनसुन गर्नपर्छ कि भन्ने लाग्न सक्छ । तर तपाईँको सम्स्याको जटिलताले अस्पतालको एउटा सिस्टम नै तुरन्तै जागरुक हुन्छ। त्यहाँ घट्ने परिदृश्य हेर्दा लाग्छ कि तपाइँको चिन्ता तपाईँको इश्वरले भन्दा बढी अस्पतालले चिन्ता लिइरहेको छ । एउटा कार्यसिद्धी गर्ने हुटहुटी देखिन्छ सबै संलग्न कर्मचारीमा । 

तपाईँको इ. सि. जि. तुरन्तै गरिन्छ । नर्सिङ स्टाफ त्यो इ. सि. जीमा  हार्ट अट्याक पत्ता लगाउन निकै सिपालु हुने रहेछन् । उनीहरुले औषधि तुरन्तै खान दिन्छन् । र त्यहाँको ड्युटीमा रहेका डाक्टरलाई खबर गरिहाल्छन् । एमर्जेन्सीमा कार्यरत चिकित्सकले आफ्नो सिनियर चिकित्सकलाई तुरन्तै खबर गर्छन् । साथमा रोगको अवस्था र जटिलताका बारेमा बिरामीका आफन्तलाई बुझाइहाल्छन् ।  साथसाथै लगाइरहेको कपडा आदि तुरन्तै परिवर्तन गरिन्छ । त्यहाँ तुरन्तै Echo ( मुटुको भिडियो एक्स रे)  गर्छन् । त्यहाँबाट ट्रलीमा राखेर क्याथ ल्याबसम्म पुर्याउने कार्यालय सहयोगी ट्रली लिएर आँखा नझिम्काउँदै आइपुग्छन् । ट्रलीमा राख्न र अपरेशन कक्ष( क्याथ ल्याब) सम्म पुर्याउने कार्यालय सहयोगीहरु पनि एकाएक जुर्मुराएको देख्दा कुनै पनि कार्यालयको सुरुवात त सानो मानिने कामबाटै हुने रहेछ । जहाँ सानो देखि ठूलो पोस्टका कर्मचारी आफ्नो कार्य तुरन्तै गर्ने बानी परेको हुन्छ , त्यस्तो संस्था एउटा विधि र अनुशासनमा बसेको हुन्छ ।
बिरामीको आफन्तले सबै जोखिम र जटिलता बुझेर जे जे पर्छ उपचार गरिदिनुस् भनेर मन्जुरीनामा दिएको केही मिनेटमै क्याथ ल्याब पुर्याउन सबैजना हौसिन्छन् ।

दृश्य हेर्दा लाग्छ कि त्यहाँ जुर्मुराएका सबै कर्मचारीको आफ्नो गन्तव्यमा रमाना हुने अन्तिम ट्रेन छुट्नै लागेको छ । हुन पनि हार्ट अट्याक भए पश्चात् प्रत्येक मिनेट हृदयका कोषिकाहरु मरिरहेका हुन्छन् । मुटुलाई रक्तसञ्चार गर्ने ब्लक भएका नशा नखोलेसम्म मुटु चिच्याइरहेको हुन्छ । व्यक्तिलाई दुखाइको रुपमा आफ्नो चित्कार सुनाइरहेको हुन्छ। इ सि जिमा मुटुले आफ्नो औडाहा र छ्ट्पटी पोखिरहेको हुन्छ ।
त्यो समयमा पर्खाइ केवल मन्जुरीको हुन्छ । बिरामीको आफ्नो उपचार स्वयं निर्धारण गर्ने अधिकारबाट बन्चित त गर्न मिल्दैन ।

तपाइँको आफन्तको मन्जुरी पाउने बित्तिकै क्याथ ल्याबमा कार्यरत कर्मचारी सबै एकाएक जाग्छन् । यस्तो लाग्छ कि अर्कै उर्जाले दौडाउँछ ।  रेडियोग्राफर, नर्सिङ स्टाफ, कार्यालय सहयोगी सबैजना सरसामान जुटाएर तम्तयार बसेका हुन्छन् । साथमा चिकित्सकको तीनजनाको टोली पनि एक आपसमा सम्पर्क गरेर तयार भइसकेका हुन्छन् । जसमा जिम्मेवार व्यक्तिको रुपमा त्यस्तो हृदयघातलाई उपचार गर्न एक जना अनुभवी कार्डियोलोजिस्ट चौबिसै घन्टा तैनाथ बसेका हुन्छन् । खबर प्राप्त भएको ५ मिनेट नबित्दै उपचारको लागि हाजिर हुने ती अनुभवी चिकित्सकप्रति विशेष सम्मान गर्नैपर्छ। साथमा दुई जना अरु चिकित्सक पनि क्याथ ल्याबमै हुन्छन् । यो प्रक्रियामा ढिलो हुने कुनै ठाउँ नै छैन । तपाईं सामान्य भुइँमान्छे भएपनि  वा कुनै विशिष्ट व्यक्ति भएपनि चिकित्सक , नर्सिङ , कार्यालय सहयोगी सबै त्यसै गरी तुरन्तै खटिने गर्छन् । यो सबैजनाको दैनिकी हो । बानी हो ।  तर सो कार्यको लागि अतिरिक्त सुविधा भने कसैले पाउँदैनन् ।

तपाइँको मुटुमा ब्लक भएको नशा खोल्ने क्रममै सघनकक्ष पनि तयार गरिसकिएको हुन्छ । उपचार सकिने बित्तिकै ट्रलीमा मनिटरसहित सि सि यु ( Coronory Care Unit ) मा पुर्याइन्छ । त्यसपछि उपचार मिहिन तरिकाले चलिरहन्छ ।

मुटुका बिरामीले यत्तिको उपचार प्राप्त गर्नु पनि प्रशंसनीय कुरा हो । हार्ट अट्याकको उपचार जटिल नै हुन्छ । र त्यसमा ज्यान जाने रिस्क त हुन्छ नै । त्यस्तो जोखिमबाट बचाउन प्रयासरत रहने गङालाल अस्पतालका सम्पूर्ण व्यक्तिहरु धन्यवादका पात्र हुन् ।
यो हृदयघातको उपचारमा ढिलो हुने भनेको बिरामीको मान्छेले मन्जुरीनामा दिन ढिलो गरेमा मात्रै हो । बाँकी अरु नियमित सेवाका उपचार पनि उस्तै उदाहरणीय रहेछन् ।

संस्था बलियो सिस्टमले हुन्छ भन्ने ज्वलन्त उदाहरण यही हो। थिति र अनुशासन बसाल्न प्रयास गरौं । कार्यालय आफै मजबुत बन्छ । 
उही 
दृश्यको द्रष्टा । 

Comments

Popular posts from this blog

अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !!

नेपाल पूर्वको यात्रा , सिकाउँछ पाठ धेरै ।

बाटो बिराएका रोगहरु ।