साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु !!

साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु !!
डा शम्भु खनाल

मनुष्यको इहलिला यही संसारमा खेल्दै रम्दै भुल्दै समाप्त हुन्छ । दौडधुप जीवनको पर्याय नै बनेको छ । दौडधुप गर्न मन नलाग्ने भनेको एउटा अदालत होला । त्यसपछि त अस्पताल नै हुनपर्छ । आस्चर्यजनक कुरा के हो भन्दा धाउन नपर्दासम्म सबैजनालाई आफू अजर अम्मर नै लाग्छ। सबैलाई धाउन मन नलाग्ने अस्पतालमा भने अस्पतालका कर्मचारी सधैं जानपर्छ । ती अजर अम्मर मनुष्यका कथा व्यथा सबै देखिन्छ, बुझिन्छ । बानी नै पर्छ ।

एमर्जेन्सीमा मुटुको समस्या भएर आउने बिरामी हेर्दा हेर्दा आफ्नो सपनामा पनि मुटुको स्पन्दन देख्नु कुनै नौलो कुरा होइन । एक दिनको कुरा हो एमर्जेन्सीमा "इको " गर्ने प्रयास गरिरहेको थिएँ । एक जना बाजे पस्चिम नेपालबाट आएका रहेछन् । उमेर अन्दाजी ७० वर्षको हुनपर्छ ।  उमेरले भन्दापनि परिश्रमले खारिएका ती बाजेको दशकौँ इतिहास बोकेको इस्टकोटले ग्रामिण भेगको सम्पन्नता झल्काउँथ्यो। उनका खोपिल्टा परेका गालाले जीवनमा भरपेट खान नपाएको अभावको खाडल देखाउँथ्यो । उनको खुम्चिएका निधारले आफ्नो जिम्मेवारीको चिन्ताका रेखाहरु देखाउँथ्यो । उनको शिरमा अडिन गार्हो मानिरहेको छड्के ढाका टोपीले परिश्रमको दाम लुकाउन खोजिरहेको थियो ।  उनको लवजबाट नै पश्चिमपारी बझाङतिरबाट आएको हुनुपर्छ भन्ने  अनुमान लगाउन सकिन्थ्यो ।

उनलाई एक महिना अगाडि आफ्नो नियमित दैनिक क्रियाकलापमा समस्या देखिन थालेछ । हिँड्दा  स्वा स्वा हुने, काम गर्दा पसिना आउने , थकान महसुस हुने , झम्म पार्ने , बेलाबेला मुटुले ठाउँ छोडेजस्तो हुने आदि लक्षण लिएर बाजे धनगढी पुगेका रहेछन् ।धनगढीका डाक्टरले बाजेको मुटु कमजोर भएको बताएछन् । तर बाजेलाई कत्ति विस्वास लागेनछ । 

उनले सोही कुरा मलाई सुनाउँदै थिए । " बिहान सवेर २ भारी घाँस बोकेर ल्याउछ बाबु म । डिङालाई कुँडो पकाउने खुवाउने काम गर्छु म । गाउँमा उकालो चढ्ने हो भने तम्रा म जित्छु । आजसम्म सिटामल बाहेक केही परेछैन ज्यानमा । खेला गर्छ डाक्टर बाबु  । मेरो मुटु कसरी कमजोर हुन्छ ? धनगडीका डाक्टरले पनि त्यही भनेका हुन् । विस्वास मानेन । यहाँ पनि एउटै भन्छौ ?  " रातको १ बजे ती प्रश्नहरुको चित्तबुझ्दो समाधान दिन धेरै धैर्यता चाहिन्छ ।

केही समयमा कुरा गर्न पर्ला भनेर म अरु काम तिर लाग्छु । तर मनमा भने ती बाजेका कुरा घुमिरहन्छन्  । बाजेका कुरा शतप्रतिशत सही हुन् । उनको मुटु कसरी कमजोर हुन सक्छ ! जीवनको उत्तरार्धसम्म शरीरलाई धानेको मुटुले कसरी एकाएक साथ छोड्न सक्छ ? उनका काँधले हलो बोके । हातले डोको बुने । कोदालो बन्चरो सबै चलाए ।  पिठ्युँले धान बोके । निधारले नाम्लोको नमेटिने निशानी बोके । आज उनका सन्तान पखेटा लागेर स्वतन्त्र भए । उनी अझै कर्मशिल छन् । परिश्रमी छन् ।

आज एकाएक ७० वर्ष सेरोफेरोमा डाक्टरले मुटु कमजोर भनेर भन्दा कसरी पत्याउँछन् त !! उनको जीवनपनि
चलचित्र "पुर्णबहादुरको सारङ्गि"को पुर्णेको भन्दा कम संघर्ष भने पक्कै थिएन । अधिकांश समकालीन बुवाहरुको कथा सायद एउटै होला ।

केही समयपछि फेरि बाजेलाई हेर्न जाँदा बाजे जुत्ता लगाएर बसिरहेका थिए । लाग्दै थियो घर हिंड्न तयारी गरेका थिए । घडी हेरेको देख्दा कुनै साइत छुट्लाजस्तो गरिरहेका थिए । उनको मुटुको पम्प गर्ने क्षमता २० प्रतिशत मात्रै थियो । त्यो कुरा सत्य थियो । तर उनलाई हेरेर रोक्न सकिन्छ जस्तो चाहिँ लागेन । त्यही पनि एक रात बसेर जान्छन् भन्ने आश थियो । सहमत पनि भए ।  उनलाई सुइबाट औषधि दिएपछि श्वास फेर्न धेरै सजिलो भएको थियो । उनको तयारी देख्दा त्यही बेला नै सगरमाथा नै चढ्छन् कि भन्ने साहस  देखिन्थ्यो ।

बाजेले बिहान फेरि कुरा गरे । " मेरो मुटु कमजोर नै भन्छौ । २० पर्सेन्त काम गर्छ भन्छौ । काठमाडौंको ठूलो अस्पतालमा जान्ने डाक्टर छौ। त्यसो  भन्छौ भने होला । त्यो  २० पर्सेन्तले अबका १० वर्ष बाँच्न सकौला ? " सायद नाति पनाति खेलाउने रहर बोकेका थिए होला बाजेले ।

मैले मान्छेको उमेर नै निर्धारण गर्न सक्ने भए ज्योतिष हुन्थेँ होला । मैले पढेको चिकित्सा विज्ञानमा उमेर निर्धारण गर्ने कला भने जानेको छैन मैले । तर मान्छेको जीजिविषा भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ। बाँच्ने अदम्य इच्छाशक्ति भएको व्यक्तिलाई औषधिले पनि राम्रै काम गर्छ ।

ती बाजेको जीजिविषा मर्न दिइन मैले । मैले भनेँ " बाजे । तपाईको मुटु भन्दा मन एक सय बीस प्रतिशत बलियो छ । गोडा दुई औषधि सधैं खानु । पानी कम खानु । तपाईंको आफ्नो उमेर कसैले खोस्न सक्दैन । "

बाजे दङ्ग परे । केही औषधि लिएर घर विदा भए । उनका छोरालाई भने रोगको जटिलता र औषधिको महत्व बुझाएर पठाएँ ।

जीवनमा कुनै कुरा  हुँदैन । एउटा मात्र निस्चित कुरा के हो भन्दा यो मर्त्यलोक छोड्नपर्छ एक दिन । ती बाजेजस्तै कर्मशील रहनु , इच्छाशक्ति बलियो गर्नु नै सार्थक जिवन जिउनुको एउटा उपाय हो । आफ्ना अग्रजहरुलाई मान गर्नु, आफूभन्दा सानो उमेरलाई माया गर्नु , घर परिवारमा शान्ती कायम गर्नु , आफ्नो मन खुसी हुनु , सकेसम्म समाजलाई योगदान गर्नु । सायद यिनै कुराहरु नै सफल जीवनका सूचक हुन् ।

रात्रीकालीन सेवा जे जति सुविधा दिएपनि समाजसेवा हो । रात विश्रामको लागि हो । उठ्न र दौडिनको लागि त होइन । तर कोहि न कोहि व्यक्ति त पक्कै त्यहाँ हुनपर्छ । चिकित्सा क्षेत्रमा एमर्जेन्सी सेवा आफूलाई मनपर्ने समय, भोक, निद्राआदि त्याग गर्न पर्ने  तपस्या हो । सायद सफलता चर्चामा होइन , सामान्य जीवनमा खुसी र स्वस्थ  रहनुमा छ ।

उहि
लोकद्रष्टा चिकित्सक ।









Comments

  1. वाह डाक्टर।
    हजुरको लेखन शैली र सेवा भावले मन छुन्छ मेरो

    ReplyDelete
  2. वाह डाक्टर।
    हजुरको लेखन शैली र सेवा भावले मन छुन्छ मेरो

    ReplyDelete

Post a Comment

Popular posts from this blog

अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !!

बाटो बिराएका रोगहरु ।

नेपाल पूर्वको यात्रा , सिकाउँछ पाठ धेरै ।