नेपाल पूर्वको यात्रा , सिकाउँछ पाठ धेरै ।

नेपाल पूर्वको यात्रा , सिकाउँछ पाठ धेरै ।
खण्ड  "क" 
यात्रा पृष्ठभूमि

यात्रा एउटा आफैलाई चिन्ने मौका हो। अरुलाई चिन्ने अवसर पनि हो। यात्रामा आफ्नो आशाअनुसार र आफ्नो अनुकूलको वातावरण नहुन सक्छ । कहिले सजिलो यात्रा हुन्छ त कहिले कठिन यात्रा हुन्छ । हरेक अवस्थामा आफूलाई अनुकूल बनाउने प्रशिक्षण पनि यात्राले प्रदान गर्छ । हामी यात्रा गर्न शौखिन हुनाले धेरै जना साथीहरु मिलेर जाने सल्लाह हुँदाहुँदै पनि कारणवश सबैको समय अनुकुल पर्दैन ।

त्यसैले भाइटिकाको अर्को दिन विहान हामी दुई जना (म र मेरी पत्नी सविता)  सल्लाह गरेर एकाएक निस्किन्छौँ  पूर्व नेपालको  यात्रामा ।

बुटवलबाट विर्तामोडसम्मको कटु यात्रा ।

वीरगन्जभन्दा उता कहिल्यै गएको थिइन । दिउँसो ३ बजेको काँकरभिट्टाको बसमा चढेर अर्को दिन बिहान १० बजे विर्तामोड उत्रिन्छौँ । सोचेको भन्दा गाडीले ढिलो पुर्याएको पक्कै हो । धन्य हाम्रो विकासोन्मुख सडकनिर्माणलाई !! हामीलाई विर्तामोडबाट उत्तर पर्ने ताप्लेजुङ जिल्लास्थित पाथिभरा मन्दिरको दर्शन गर्ने हेतुले गाडी खोज्छौँ । तर ताप्लेजुङ जाने गाडीको टिकेट बिहान ९ बजेसम्म मात्रै हुने रहेछ ।

गाडीले रोक्ने ठाउँमा खासै खाना राम्रो नहुने भएकोले खाना खाएका थिएनौँ । घरबाट बोकेको रोटी र चिया मात्रै खाएर निर्वाह गरेका थियौँ ।  खानाको गुणस्तर कमसल तर पैसा भने असली चर्को लिने गर्छन् । त्यहाँ सेवाको भाव मैले मात्रै महसुस गर्न नसकेको हो कि ! कुनै कुनै यातायात निकै अनुशासित र सभ्य हुन्छन् । समयमा सौचका लागि रोक्ने , समयमा नास्ता खान रोक्ने , गाडी सफा सुग्घर राख्ने, पानीको बत्तल दिने , टि भि लगाएर यात्रा सहज गर्दिने हुन्छन् । तर धेरैजसो गाडी भने यस्ता अनुशासनमा शून्य हुन्छन् । त्यस्तै झुर यातायात पर्नु हाम्रो विडम्बना नै हो । अझै भैरहवा बसपार्कको सिद्धार्थ यातायातको बस काउन्टरबाट टिकेट काटेको बसको सेवामा यात्रीमैत्री नहुनु निकै दुखको कुरा हो । 

मलाई न्यायोचित नलागेको जे कुरामा उजुरी गरिहाल्नुपर्ने हुन्छ । तर सविता भने सधैंजस्तो मौन रहन्छिन् । धैर्यता म भन्दा बढी हो जस्तो महसुस हुन्छ । वा यात्रामा भनेर बोलेर कम्प्लेन गरेर फाइदा छैन भन्ने आत्मज्ञानले नि हुन सक्छ ।

विर्तामोडबाट ताप्लेजुङसम्म

विर्तामोडबाट ताप्लेजुङ जाने बस नहुने रहेछन् । उही स्कर्पियो, बोलेरो , जिपजस्ता साना गाडी हुने रहेछन् । खाना खाने र सौच आदिको लागि हामीसँग समय थिएन । गाडी खोज्दा एउटाले हामी  दुई जनालाई ताप्लेजुङ भनेर बस्न त भन्यो । तर त्यो गाडी पाँचथर फिदिमसम्म मात्रै जाने रहेछ । त्यहाँ पुग्दा दिउँसोको ४ बज्छ । जम्माजम्मी ५.५ घण्टाको यात्रा । सो समयमा ताप्लेजुङको फुङलिङ बजार जाने गाडी पाउन मुस्किल हुने रहेछ । त्यही पनि फिदिमसम्म ल्याउने चालकले अर्को गाडीको लागि सुनिस्चित गर्दिन्छन् । त्यसको लागि धन्यवाद भन्नै पर्छ ।

पहाडको यात्राको बाटो घुमाउरो हुनु स्वभाविक नै हो । त्यस्तो घुमाउरो बाटोमा पनि गाडी भने स्पिडमै चलाउने रहेछन् । कुनै कुनै बेला त मुटुले ठाउँ छोड्ने जस्तो पनि भएको थियो । बाटो भने पूरै पीच थियो । खाल्डाखुल्डी निकै कम थिए । सायद भ्रष्टाचार अलि कम भएछ । जे होस् पूर्व नेपालको बाटोलाई राम्रो मान्नुपर्छ ।

फिदिमबाट फुङलिङ बजार पुग्दा रातिको ७:३० बज्छ । ३ घण्टा लाग्ने रहेछ फिदिमबाट । हामीलाई फुङलिङ बजार भन्दापनि सानोफेदीसम्म पुग्नु थियो । त्यहाँ पुग्नपर्ने  ९ जना हुनाले एउटा जिपले लैजाने भयो । त्यहाँको सिस्टम नै कि गाडीको पूरै सिट भर्नु पर्यो । कि पूरै सिटको भाडा दिनुपर्यो । फुङलिङबाट तल्लो फेदी पुग्ने बाटो निकै खराब रहेछ । पेटभित्रका आन्द्रा हल्लाउँदै , टाउको ठोक्काउँदै,  घुँडा कुचुक्क पार्दै २ घन्टामा बल्ल सानो फेदी पुगिन्छ । त्यो दुई घन्टाको यात्रा मलाई त १० घण्टाजस्तो लाग्छ । 

विर्तामोडबाट सानो फेदी पुग्दा एक जनाको भाडा रु.२२०० खर्च हुन्छ । समय ११ घन्टा आसपास लाग्छ । त्यहाँ होटेलहरुको राम्रो व्यवस्था रहेनछ । घरहरुमा बस्नुपर्ने रहेछ । त्यहाँ भएको एउटा पक्की घर होटेलजस्तो देखिएपनि खाली नहुने रहेछ । बुकिङ गरेर नै सकिने रहेछ । हामी सोध्दै एउटा होटेलमा पस्छौँ । बस्ने कोठा हेर्दा साँघुरो , जस्तापाताले घेरेको गाउँघरतिरको घरजस्तै हुन्छ । आफ्नो बाल्यकाल याद हुन्छ । धेरै भिड हुँदा त किचेन आदिमा पनि सुत्नुपर्ने  बाध्यता हुने रहेछ । जे होस् कसैसँग कोठा share नगरी दुई जनामात्रै बस्न पाउनु पनि भाग्य नै मान्नुपर्छ ।

सानो फेदीबाट पाथिभरासम्मको उकालो यात्रा

बिहानै ३:३० बजे उठेर नित्यकर्म गरेर स्नान गरेपछि ४:३० मा हामी पाथीभरा दर्शनको लागि अँध्यरोमा नै हिँड्छौँ । बाटो सहज तर पूरै उकालो हुन्छ । मोबाइलको लाइट बालेर हिंड्दै जान्छौँ । माथिल्लो फेदी पुग्न १ घण्टा लाग्छ । त्यहाँ धेरै  "होमस्टेहरु" रहेछन् । बिहान पाथीभरा पुग्न सहज हुने हुनाले त्यहाँसम्म आएर राती बस्ने धेरैजनाको उद्देश्य हुने रहेछ। हामी उकालो लाग्दै गर्दा धेरै जना दर्शन गरेर फर्किँदै थिए । उनीहरु राती २ बजे नै उकालो चढेर दर्शन गरेर फर्किँदै थिए ।  हामी ८ बजे पाथीभरा पुग्छौँ । यसपटक त सविता पनि उकालो राम्रोसँग नै हिँड्छिन् । सायद हालसालै अन्नपूर्ण बेस क्याम्पको यात्राले शरीर बलियो भएछ !!

पाथीभरा पुग्दा आकाश पूरै खुलेको हुन्छ । बादल कतै देखिन्न । आकाश निलो देखिन्छ। हिमालको हिउँ टिलिक्क टल्किन्छ । मन्दिर परिसरमा अलि अलि हिउँ पनि परेको हुन्छ । कन्चनजङ्गा हिमाल निकै सुन्दर र मनोरम देखिन्छ । पूरै हिमशृङ्खला निकै आकर्षक देखिन्छ । त्यति लामो हिम शृङ्खला अरु ठाउँबाट मैले देखेको थिइन । चिसो हावा लागेर हात नाक कान चिसा भएका थिए । साथै हिमालबाट ठोक्किएर आएको हावा उर्जावान पनि महसुस हुन्छ । 



मनोरम दृश्य हेर्दाहेर्दै लाइन लाग्न ढिला हुन्छ । केही समयमै पाथीभरा माताको दर्शन गर्ने लाइन लामो भइसकेको हुन्छ । दुई घण्टा लाइन लागेपछि छोटो दर्शन गर्न पाइन्छ । देवीको मूर्ति खुल्ला ठाउँमा नै हुन्छ । विशिष्ट किसिमको आकृति भएको मूर्ति देखेर मलाई निकै शक्तिशाली देवीको झल्को आउँछ। मलाई धेरै पहिलेदेखि मेरो मनमा रहेको पाथीभरा कस्तो रहेछ भन्ने खुल्दुली शान्त हुन्छ ।

पाथीभरा देवीको बारेमा धेरै किम्बदन्ती रहेका छन् । एउटा किम्बदन्ती अनुसार भगवान शिवले सती देवीको शवलाई बोकेर हिँड्दा अङ्ग पतन भएको स्थान हो भनिने रहेछ । अर्को किंबदन्ती अनुसार एक जना गोठालोले आफ्ना भेँडाहरु हराउँदै गएकोले देवीलाई सम्झी बली दिएपछि सबै भेँडाहरु आफै आइपुगेकोले देवीको शक्ति रहेको विस्वास मजबुत बनेको भन्ने भनाइ रहेछ ।
जे होस् पाथीभरा माताको दर्शन गर्न मैले कल्पना गरेको भन्दा लामो यात्रा तय गर्नुपर्ने रहेछ । दर्शन गर्ने भक्तजनहरु पनि सोचेभन्दा बढी नै हुने रहेछन् । पाथीभरा माताले सबैको मनोकामना पूरा गरुन् । जय पाथीभरा माता ।


भगवान सधैं अप्ठेरो स्थानमा बस्न रुचाउने भएर होला । मानसरोवर, कालिन्चोक , पाथिभरा , स्वर्गद्वारी आदि सबै पहाडका टुप्पोमा अवस्थित छन् । पौराणिक कथा अनुसार भगवान शिवलाई खोज्दै मनुष्य जुनसुकै स्थान पुगेर ध्यानमा विघ्न उत्पन्न गरेपछि नारद मुनीले मनुष्यको हृदयमा ( आत्मामा) बस्नु भनेर अर्ती दिएपछि भगवान सधैं मनुष्यभित्र वास गरेको कथन छ । तर हामी मनुष्य आफूभित्र प्रवेश गर्नुभन्दा पनि अनकण्टार ठाउँसम्म पनि भगवान दर्शन गर्न तत्पर रहन्छौँ । कस्तुरीले आफ्नै शरीरको वासना खोज्दै भौँतारिरहेजस्तै नियति मनुष्यको देख्न सकिन्छ । 

आत्मा परमात्मा जे जस्तो प्रवचन गरेपनि मन्दिर , शक्तिपीठ आदिमा शान्ति प्राप्त भने हुन्छ । आलौकिक शक्तिको प्रभाव महसुस गर्न सकिन्छ । सोही कारण मन्दिर दर्शन गर्नुलाई अन्यथा मान्न मिल्दैन । 

पाथीभरा दर्शन गर्न  सहज होला भनेर केबलकारको व्यवस्था गर्नु राम्रै देखिन्छ। तर त्यहाँका स्थानीय वासिन्दाको चर्को विरोधका कारण सो निर्माणकार्य  हालको लागि स्थगित  गरिएको रहेछ । 

पाथीभराबाट फर्किँदा

पाथिभरामा मौसम निकै छिटो परिवर्तन हुने रहेछ । एकाएक बादलले आकाश पुरै ढाक्ने रहेछ । अनि कठ्याङग्रिदो चिसो हुन्छ । केही समयमा बादल फारिन्छ । स्वेत हिमाल पुनः देखिन्छ। मन निकै प्रफुल्लित हुन्छ ।  बिहान सूर्योदय हुने बेला पुग्न सकिएन भने हिमशृङ्खलाको मनोरम दृश्य भने छुट्दो रहेछ ।

हामी १०:३० बजे पाथीभरादेखि ओर्लिन्छौँ । 
ओर्लिने क्रममा बाटोभरी प्लास्टिक , बोत्तल , चकलेटका खोल आदि देख्छौँ । तर साथमा ठाउँ ठाउँमा खाली डस्ट्विन पनि देख्छौँ । यात्रीहरुले "फोहर मलाई" भन्ने पढ्न जान्ने रहेनछन् सायद !! त्यो बाटोभरिको फोहरको पर्यावरणीय र पर्यटकीय असर त जान्ने कुरै भएन !  

तल्लो फेदीमा पुग्न २ घण्टा लाग्छ । त्यहाँ  खानपिन गरेर हामी फुङलिङ झर्छौँ । हामी दुई जनालाई मात्रै गाडीले सिट दिन आनाकानी गर्छन् । एउटा गाडी नभरिएसम्म अर्को गाडी जान नपाउने रहेछ । गाडी  चालकले ठूलो समूहलाई छिटो सिट दिएर गाडी भर्ने  गर्छन् । ठूलो समूहमा एक दुई जना नपुगेमा मात्रै हाम्रो पालो आउने रहेछ । त्यस्तो हेपाहा पारा देखेर मनमनै त सार्है रिस उठ्छ ।  बल्लतल्ल एउटा गाडीमा समीकरण मिल्छ । त्यसमा पनि मलाई बोलेरोको पछाडिको सिटमा बस्नुपर्ने हुन्छ । यात्रामा "Adjust" त गर्नै पर्यो ! त्यसको प्रतिफल म पुरै धुलाम्मै हुन्छु । म धेरै वर्षपछि त्यस्तो धुलाम्मै भएको हुँ । 



सानो हुँदा पहाड घर जाने क्रममा त्यस्तै धुलाम्मे भएको याद छ । अचेल त बाटो पिच भएपछि त्यस्तो अवसर कहाँ पाइन्छ र !! गाडीचालकले पछाडीको पर्दा नझारेकोले त्यस्तो धुलाम्मे भएकोमा उसको गैरजिम्मेवारीपन हो भन्ने लाग्छ । रिस उठेपनि झगडै गर्न त भएन ।

फुङलिङबजारमा गाडी नपाउँदा

फुङलिङ बजार पुग्दा दिउँसो ३:३० बजेको हुन्छ । इलामसम्म पुग्ने गाडी पाइँदैन । अन्तिम सिटमा बसेर जान पर्ने हुन्छ । तर त्यो सिट निकै असहज हुनाले त्यसमा जान अस्वीकार गर्छौँ । केही बेर त्यहाँ टहल्दै गर्दा काउन्टरको मान्छेले विर्तामोडसम्मको भाडा दिने भए इलाम कन्यमसम्म जाने राम्रो सिट मिलाउँछु भनेर भन्दा हर्ष हुने नै भयो । कन्यमबाट विर्तामोड १ घण्टाको दुरी मात्रै हो । हामी ४ बजे फुङलिङबाट रमाना हुन्छौं । इलामको कन्यम पुग्दा राती १२ बजेको हुन्छ । होटेल पहिल्यै बुकिङ गरेको हुनाले अलमल भने हुँदैन ।

इलामको चियाबगानमा मायाप्रेमका कुरा ।

अघिल्लो दिनको यात्राको थकानले गर्दा बिहानै उठ्न ढिला हुन्छ । त्यसैले सुर्योदय हेर्न छुटाउँछौँ । चिया बगान हेर्दा म पश्चिम हुर्केको मान्छेलाई चाहिँ नौलो नै लाग्छ । फोटो चाहिँ गज्जब आउने रहेछ । त्यो चियाबगान हेर्दा चिटिक्क मिलेको समथर हरियो जमिनजस्तो देखिन्छ । प्रकृतिले पहाडमा चित्र कोरेर चिटिक्क पारेको जस्तो प्रतित हुन्छ  । चिया बगानमा फोटो खिच्दै गर्दा मलाई मेरी जीवन सङिनी औधी राम्री लाग्छ । बिहेपछिको फोटोसुट गर्न निकै उपयुक्त स्थान लाग्छ मलाई । पहिरन नभए पनि आफैं आफै फोटो खिच्ने काम गर्छौं ।  



कन्यम भन्ने ठाउँमा बेस्मरी भीड हुने रहेछ । फोटो खिच्नेको लर्को हुने । पालो कुर्नुपर्ने । इलाममा गज्जब रहेछ आन्तरिक पर्यटन ।  त्यहीँ नजिकै एउटा टावरमा सिसाले बनेको भुइँमा हिँड्न मिल्ने रहेछ । Skywalk गर्नको लागि प्रति व्यक्ति ३०० लाग्ने रहेछ । त्यो चाहिँ मलाई अल्लि महङो नै लागेको हो । मुस्किलले १० फिटको सिसामा हिंड्न त्यति रकम उचित लागेन मलाई । तर यो पनि एउटा आकर्षणको केन्द्र भने बन्न सक्ने कुरामा दुविधा छैन ।


इलाम निकै विकसित पहाडी भूभाग लाग्छ । चिया, अदुवा, तरकारीमा आलु र इस्कुस  आदिबाट मनग्गै आमदानी हुने ठाउँ रहेछ ।व्यवसायिक खेतीले गर्दा इलामबासीको जीवनस्तर उच्च रहेको आँकलन सजिलै गर्न सकिन्छ ।  बाटोघाटो, शिक्षा , स्वास्थ्य आदिमा पनि निकै विकसित प्रतीत हुन्छ । इलामलाई  पूर्वमा शिक्षाको केन्द्रविन्दु नै मान्न सकिन्छ । त्यही कुरामा पश्चिम नेपाल भने तुलनात्मक रुपमा धेरै पछाडि परेको महसुस हुन्छ ।

हामीहरु इलामबाट धरान जाने भन्ने तय गरेका हुन्छौँ । तर इलामबाट दार्जिलिङ पनि नजिकै पर्छ भन्ने थाह पाउँदा एक पटक दार्जिलिङ घुम्ने इच्छा जाग्छ । धेरै सुनेको तर कहिल्यै नगएको ठाउँ जान भने मनले खुब डोर्‍याउने रहेछ ।

खण्ड ख : 

कल्पना गरेको दार्जीलिङ , देखेको दार्जिलिङ ।

सानैदेखि इतिहास पढ्दा नेपाली पुर्खाले सुंगौली सन्धिमा गुमाएको भूभाग भनेर सुनेको ठाउँ हो दार्जिलिङ । दार्जिलिङ निकै सुन्दर रहेको हुनाले ब्रिटिसले त्यो भूभाग नेपालबाट आफ्नो वशमा पारेको भनेर पढ्ने गरेको थिएँ । इलामको फिक्कलबजारबाट आधा घण्टाजतिमा पशुपतिनगर भन्ने स्थान पुग्छौँ । पश्चिम बङालको बोर्डर हो त्यो। 

दार्जिलिङ पश्चिम बङालमा पर्छ । त्यहाँ नेपाली पैसासँग इन्डियन पैसा साट्छौँ । त्यहाँबाट पब्लिक गाडी चढेर दार्जिलिङ बजार पुग्ने सोच हुन्छ । तर एउटा ट्याक्सीको चालकले हाम्रो दिमाग भुट्छ । र बाटोमा पर्ने घुम्ने ठाउँहरु हेर्न पाइन्छ भनेर ट्याक्सीमा जान्छौं । दार्जिलिङ प्रवेश गरेपछि पहिलो स्टेसन "सिमाना" भन्ने ठाउँ रहेछ । मान्छेहरुको घुइँचो थियो । गाडीहरूको लस्कर थियो। के रहेछ त भनेर हेर्न गएको थिएँ । हामी पूरै निराश हुन्छौँ । एउटा डाँडाबाट पारी अरु डाँडाहरु र जङल हेर्ने ठाउँ रहेछ । न सफा छ। न कुनै भ्यु टावर छ । न ठाउँ सिगारिएको छ । न कुनै ऐतिहासिक महत्वको बारेमा कतै लेखिएको छ । त्यस्तो स्थानहरु त नेपालमा प्रत्येक  किलोमिटरको दूरीमा होलान् जस्तो लाग्छ । 

त्यही पहाड हेर्न पनि मान्छेको लस्कर देखेर हामी नेपालमा चाहिँ पर्यटन विकास गर्न नसकेकोमा लाज नै मान्नुपर्ने हो । जे होस् हाम्रा पुर्खाहरुले दार्जिलिङभन्दा पूर्व टिस्टा नदीसम्म पुगेको गाथा सुम्झिँदा  भने गर्व नै लाग्यो ।

त्यसपछिको अर्को स्टेशन भनेको जोरपोखरी रहेछ । त्यहाँ कृत्रिम पोखरी निर्माण गरिएको रहेछ । वरिपरि सल्लाको रुखले गर्दा हेर्दा राम्रो देखिन्छ । दार्जिलिङको विशेषता भनेको घना सल्लाको रुखहरु रहेछ । पहाडहरु नाङो नहुने र सल्लाले ढाकेको हुनाले नै होला अंग्रेजले दार्जीलिङमा आँखा गाडेको हुनुपर्छ । यो कृत्रिम पोखरी भए पनि बस्न र हेर्न रमाइलै लाग्यो । तर यो स्थान पनि नेपालमा देखिने सामान्य पार्कहरुभन्दा कत्ति  फरक पाइन ।

त्यसपछि एउटा गुम्बा रहेछ दार्जिलिङ बजारमा । त्यो गुम्बामा केही विशेष होला भनेर प्रवेश गरेका थियौँ , त्यहाँ पनि केही विशेष लागेन । हुन सक्छ धार्मिक महत्व विशेष होला । पर्यटकीय दृष्टिकोणबाट विश्लेषण गर्दा बुद्धको जन्मभूमी लुम्बिनी धेरै पटक  घुमिसकेको मान्छेलाई त्यो खासै केही नलाग्नु स्वभाविक नै हो ।

त्यसपछि बतासे भन्ने ठाउँ रहेछ । त्यहाँ एउटा पार्कभित्र वीर गोर्खालीको शालिक रहेछ । भित्र नेपाली पहिरन लगाएर फोटो खिच्नेहरुको भीड देखिन्थ्यो । हामीले पनि त्यो पहिरन लगाउने र फोटो खिच्ने काम गर्यौँ । जे होस् त्यो पार्क राम्रोसँग व्यवस्थापन गरिएको रहेछ । वरिपरि पहाडको दृश्य देख्न सकिन्छ । शितल ठाउँमा शितल हावा चल्नु नै त्यसको विशेषता होला ।



दार्जिलिङको विशेष भनेको त्यहाँको चिडियाखाना रहेछ । जुन कुरा विहिबार परेको हुनाले हामीले अवलोकन गर्न पाएनौँ । त्यसैले त्यो स्थानको बारेमा म राय दिन सकिन ।

दार्जिलिङमा पानीको विशेष समस्या रहेछ । त्यसैले पानी ट्यान्करले रातभरी पानी बोकेर पानी पुर्याउन पर्ने अवस्था रहेछ । 

दार्जिलिङको बजार एक पटक घुमिसकेपछि त्यहाँ बस्न मन चाहिँ लागेन । पशुपतिनगरबाट दार्जिलिङबजार  पुग्न १:३० घण्टा लाग्ने रहेछ ।  त्यहाँको अर्को स्थान भनेको रक गार्डेन जानको लागि छुट्टै गाडी लिएर २००० तिर्न पर्ने रहेछ । जानै मन लागेन । त्यो पनि उहि सिमानाको भ्यु पोइन्टजस्तै हो कि भन्ने मनमा पर्यो । अनि इलाम फर्किनभन्दा सिक्किम पनि जान पर्यो भनेर सिक्किमतिर लाग्छौँ । दार्जीलिङबाट सिक्किमसम्म पुग्न ५ घण्टा लाग्ने रहेछ । 

सिक्किम जाने बाटो धेरै राम्रो रहेछ । दार्जिलिङको जङल बीचबाट बनेको बाटोमा कतै खाल्डाखुल्डी देखिएन ।  ठाउँ ठाउँमा घतलाग्दा भनाइहरु लेखिएका बोर्डहरु रहेछन् । ती बोर्डमा गाडी चलाउँदा  अनुशासित भएर चलाउन पर्छ भन्ने सन्देश मर्ममै घोच्ने तरिकाले लेखिएका हुन्छन् । उदाहरण : Donate blood in blood banks, not in roads. Two great talkers don't reach too far.

रङपोमा बिर्सेको पर्मिट ।

रङ्पो भन्ने स्थानमा पुलिस चेकपोस्ट रहेछ । त्यहाँ चेकजाँच गरेर पर्मिट बनाएर  जानुपर्ने रहेछ । तर हामीलाई त्यसको ज्ञान थिएन । ट्याक्सीको चालकले पनि हामीलाई त्यो कुरा भनेन । पुलिसले ट्याक्सीभित्र हेर्यो र केही नसोधी छोड्यो । सायद हाम्रो अनुहार सिक्किमका मान्छेजस्तो लागे होला । र हामी सिक्किमकै नम्बर प्लेट भएको ट्याक्सिमा सवार थियौँ । तर जे भएपनि पर्मिटको जानकारी नहुनुमा ट्याक्सी चालकको दोष देख्छु म । र हाम्रो पूर्व तयारी नहुनुको नतिजा पनि थियो । कुनै पनि नयाँ स्थान जानुपुर्व अध्ययन गरेर जानुपर्छ भन्ने पाठ सिकिन्छ । दार्जीलिङमा गइसकेपछि  अध्ययन गर्न नेपालको सिम र नेट चल्ने कुरा पनि भएन । सो पर्मिट नहुँदा अर्को दिन सिक्किमका केही स्थान घुम्न बन्देज लाग्ने रहेछ । त्यो कुरा राती होटेलमा पुगेपछी बल्ल थाह पायौँ ।

ग्याङटकको एम. जी. मार्गले दरवारमार्गको झल्को ।

साँझको ७ बजेतिर ग्याङटक पुगेपछि एउटा होटेलमा ट्याक्सीले छोड्दिन्छन् । एम जि मार्ग कस्तो रहेछ भनेर बडो खुलदुली हुन्छ । त्यसैले राती नै जान पर्ने स्थान भएकोले हामी एम जि मार्ग जान्छौं । सहर बजारको चहलपहल देख्न सकिने रहेछ । निकै भीड हुने रहेछ । महात्मा गान्धीको सालिकबाट सुरु हुने भएर नाम एम जि मार्ग रहेको हुनुपर्छ । त्यहाँ जतासुकै लाइटहरु, विशेष भवनहरु, रेस्टुरेन्ट , विदेशी कम्पनीका सो रुमहरु रहेछन् । जे होस् नेपालको दरबार मार्ग र ठमेलबजारको झझल्को आउँछ । दरबार मार्गको क्षेत्रभन्दा ४ गुणाजति बढी रहेछ । र मान्छे हिँड्ने  फुटपाथ निकै फराकिलो रहेछ । बालेनले न्युरोडमा कल्पना गरेको कुरा पनि एम जि मार्गसँग मिल्दोजुल्दो लाग्छ मलाई । 



अर्को दिन हामी झाँक्री फल्स भन्ने ठाउँ जान्छौं । जहाँ वन झाक्रीको मूर्तिहरु रहेछ । एउटा झरना मात्रै प्राकृतिक र बाँकी बनाइएका संरचना सबै कृत्रिम भएको कारणले पर्यटकीय स्थलको प्रवर्द्धन कसरी गर्नुपर्छ भनेर सिक्न सकिन्छ । 



नेपाल त  त्यस्ता झरनाहरुको खानी नै हो । तर प्रचारप्रसारको कमी भने पक्कै हो ।
त्यसपछिका स्थनहरु खासै केही लागेन । एउटा डाँडोमा चढेपछि भ्यु पोइन्ट भनेर प्रचार गरिएको छ। गुम्बाहरु पनि सबै उस्तै नै हुन् । कुनै नौलो लागेन । त्यो पर्मिट नभएकोले हामीले दुईटा स्थान भने छुट्छ । मनमनै त्यो चालकसँग मलाई रिस भने उठ्छ । तर नेपाली भाषा बोल्ने हुनाले म आफू नेपालमै छु भन्ने महसुस चाहिँ भइरहन्छ । बौद्ध धर्म मान्ने भएपनि उसलाई लुम्बिनीको बारेमा पनि थाह रहेनछ । जुन कुराले मेरो मन थोरै चिसो हुन्छ । त्यस्तो महत्वपूर्ण स्थानको प्रचारमा कति कमी होला भनेर खिन्नता हुन्छ ।

दार्जिलिङ र सिक्किम जाँदा  नेपालबाट टाढा गएको महसुस हुँदैन । सिक्किमले मात्रै नेपालीलाई पर्मिट सिस्टम बनाएकोले विरानो महसुस गराउँछ । आफूलाई अनुहार र भाषाले चिनेको कानुनले नचिनेको सिक्किमेली भएको भान हुन्छ ।

सिक्किममा मणिपाल युनिभर्सिटी देख्दा आफूले नेपालमा मणिपाल कलेजमा  पढेकोले आफ्नोपन महसुस पनि हुन्छ ।

सिक्किमको जनसंख्या वृद्धिले होला सहरबजार बहुत व्यस्त हुन्छ। हामीलाई अलि अलि काठमाडौंको झल्को आउँछ ।
सिक्किम बजारको आयतन विगत एक दशकमा निकै बढेको कुरा सविताले भन्छिन् । उनी १२ वर्ष पहिले भ्रमण गरेको स्थान थियो त्यो । मैले सिक्किमलाई गाउँघरजस्तै क्षेत्र कल्पना गरेको थिएँ । त्यही सिकलेस वा घान्द्रुकजस्तै होला भन्ने कल्पना गरेकोमा पूरै बजार देख्दा म दङ्ग पर्छु । विदेशी कम्पनीको लगानी निकै उच्च रहेको आँकलन गर्न सकिन्छ ।।

धेरै प्रयोजन बाँकी नरहेपछी हामी सिलगुडीको लागि रमाना हुन्छौं । बससेवा दिउँसो दुई बजेसम्म मात्रै रहेछ । सिक्किमको ट्राफिक जामले काठमाडौको याद गराउँछ । र त्यहाँ गाडी कि प्राइभेट गाडी कि ट्याक्सी मात्रै देख्न सकिन्छ । न अटो रिक्सा देखिन्छ । न कुनै सार्वजनिक यातायात नै देखिन्छ । तसर्थ , सिक्किमलाई City of Taxi भन्दा कत्ति फरक पर्दैन ।

हरियो सफा सिक्किमबाट प्रदुषित सिलगुडीसम्म ।

दिउँसो ३:३० बजेतिर देउराली भन्ने स्टेसनमा बस वा गाडी नपाएपछी हामी खिन्न हुन्छौँ। रिजर्भ गर्दा निकै महङो हुनाले हामी फर्किने निर्णय गर्छौं । तर एउटा कार सिलगुडी फर्किन पर्ने हुँदा खाली जान भन्दा मिलाएर लैजाने भएपछि हामी त्यसैमा सिलगुडी हिँड्छौँ। बाटोमा दुई जना बङाली पनि बसेपछि हामी त भारतमा छौँ भन्ने सम्झिँन्छौँ ।
सायद भाषाको तागत यहि नै हो । सिलगुडी नयाँ ठाउँ भएकोले अन्योल हुन्छ । त्यही कार  चालकलाई सोधेर हामीलाई NGP स्टेसनमा ओर्लिने कुरा तय हुन्छ । सो स्टेसनबाट काकरभिट्टाको गाडी पाइने रहेछ । बिहान उज्यालोमा हेर्दा सिलगुडी बजार निकै प्रदुषित र फोहरले भरिएको बजार देखिन्छ । पुनः फोहर देखेर फिटिक्कै चित्त बुझ्दैन ।

बोर्डरमा SSB को रवाफ ।

पानी ट्यान्की बोर्डरमा भारतिय पुलिसले सबैको आइ डि चेक गर्ने रहेछ । हामीसँग मोबाइलमा मात्रै नागरिकता आदि रहेकोले त्यही देखाउँछौँ। SSB ले पुरै व्यङ्य हान्छन् । गाडीबाट निस्किन भन्छ । नेपाल प्रवेश गर्न नदिने कुरा गर्छ । रिस उठेपनि आफू कमजोर हुँदा अनुनय विनय गरेपछी बल्ल छोड्दिन्छ । हिड्ने बेला भारत प्रवेश गरिन्छ भनेर प्लान नभएको हुनाले नागरिकता साथमा लिएनौँ । नेपालको नागरिकता पर्समा अट्ने साइजको निकाल्न नेपाल प्रशासनलाई अनुरोध गर्छु । अरु परिचय पत्रलाई मान्यता दिँदैन। काकरभिट्टा प्रवेश गरेपछि सुरक्षित महसुस गर्छौँ । आफ्नोपनको महसुस हुन्छ । यसरी एउटा यात्रा समाप्त हुन्छ ।

यात्राको निचोड

यो सफल यात्राको लागि पाथीभरा माताप्रति विशेष श्रद्धा रहेको छ । साथमा रहेकी जीवनसङिनीप्रति विशेष आभार तथा माया छ । नेपालको पर्यटन विभागलाई अलि हौसिएर जाग्न अनुरोध छ । माल पाएर चाल नपाएको नेपाल सरकारलाई समयमै आफ्नो विशेषताहरुमा जोड दिन विनम्र अनुरोध छ। पर्यटकहरुले हाम्रो देशमा घुइँचो लागेर सुरक्षा बल दोब्बर गरेको हेर्ने मन छ। नेपाल धेरै नै सुन्दर छ । यो यात्राले मलाई नेपाल प्रचुर सम्भावना बोकेको देश हो भन्ने कुरामा स्पष्ट पारेको छ । 


Comments

Popular posts from this blog

अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !!

बाटो बिराएका रोगहरु ।