नेपाल पूर्वको यात्रा , सिकाउँछ पाठ धेरै ।
नेपाल पूर्वको यात्रा , सिकाउँछ पाठ धेरै । खण्ड "क" यात्रा पृष्ठभूमि यात्रा एउटा आफैलाई चिन्ने मौका हो। अरुलाई चिन्ने अवसर पनि हो। यात्रामा आफ्नो आशाअनुसार र आफ्नो अनुकूलको वातावरण नहुन सक्छ । कहिले सजिलो यात्रा हुन्छ त कहिले कठिन यात्रा हुन्छ । हरेक अवस्थामा आफूलाई अनुकूल बनाउने प्रशिक्षण पनि यात्राले प्रदान गर्छ । हामी यात्रा गर्न शौखिन हुनाले धेरै जना साथीहरु मिलेर जाने सल्लाह हुँदाहुँदै पनि कारणवश सबैको समय अनुकुल पर्दैन । त्यसैले भाइटिकाको अर्को दिन विहान हामी दुई जना (म र मेरी पत्नी सविता) सल्लाह गरेर एकाएक निस्किन्छौँ पूर्व नेपालको यात्रामा । बुटवलबाट विर्तामोडसम्मको कटु यात्रा । वीरगन्जभन्दा उता कहिल्यै गएको थिइन । दिउँसो ३ बजेको काँकरभिट्टाको बसमा चढेर अर्को दिन बिहान १० बजे विर्तामोड उत्रिन्छौँ । सोचेको भन्दा गाडीले ढिलो पुर्याएको पक्कै हो । धन्य हाम्रो विकासोन्मुख सडकनिर्माणलाई !! हामीलाई विर्तामोडबाट उत्तर पर्ने ताप्लेजुङ जिल्लास्थित पाथिभरा मन्दिरको दर्शन गर्ने हेतुले गाडी खोज्छौँ । तर ताप्लेजुङ जाने गाडीको टिकेट बिहान ९ बजेसम्म मात्रै हुने र...