अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !!











अन्नपूर्ण बेस क्याम्पको यात्रा
आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !!


( यो एउटा यात्रा अनुभव मात्रै हो । पट्यार लागेमा क्षमाप्रार्थी छु ।)
प्रारम्भ:
शरद रितु निकै मनोरम रितु हुन्छ । न धेरै गर्मी न धेरै जाडो । चाडपर्वको मौसम । दशैँ तिहार छठ पर्वको मौसम । सबैको विदा आदि पर्ने मौसम । अस्पतालको दैनिकीबाट टाढा हुन खोज्ने मनहरु मिल्न पुग्दा यात्राको तय हुने गर्छ। यसपटक पनि अचानक अन्नपूर्ण बेस क्याम्पको यात्रा तय हुन्छ । र झिनोमसिनो तयारी गरेर यात्राको लागि ६ जना निस्किन्छौँ । त्यसमाथि म तीन वर्ष फेरि डि एम कार्डियोलोजीको बन्धनमा घोडाजस्तै दौडिन पर्ने निकट भविष्य सम्झिएर घुम्ने इच्छा पूरा गर्नु पनि थियो ।
बुटवलबाट २ बजे निस्किएर पोखरा साँझ बस्ने गरी निस्किने भनेको हिँड्दा नै ४:३० बज्छ । इलेक्ट्रिक गाडीलाई चार्ज गर्न ढिला भएकोले समयमा हिंड्न नसकेको भन्दै थिए ड्राइभरले । सोही गाडीलाई पुनः स्याङ्जामा चार्जिङ गर्नुपर्ने रहेछ । यसो विचार गर्दा सार्वजनिक एलेक्ट्रिक गाडी प्रयोग गर्ने चार्जिङ स्टेसन आदिको  संरचनाको विकास अझै भइसकेको देखिन्न । त्यसैले मलाइ भने जाती लागेन ।

यात्रा प्रारम्भ
( पहिलो दिन)

अर्को दिन बिहानै ६ बजे निस्किन्छौँ र हरि चोक पुग्छौँ । हरि चोकबाट नयापुल हुँदै झिनु पुग्न ३ घन्टा लाग्ने रहेछ । नयापुलबाट बाटो निकै कच्ची रहेछ । हामी चढेको गाडी टाटाले बनाएको ८ जना बस्न मिल्ने गाडी रहेछ । मैले पढेर जानेको मध्यमा सबैभन्दा मन पर्ने व्यक्ति रतन टाटालाई मनमनै निकै धन्यवाद दिएँ
। जसलाई म व्यापारी भन्दापनि उद्योगी दानवीर भन्न रुचाउँछु । उनको हालै देहावसान भएको छ । आत्माको चिर शान्तिको कामना पनि गरेँ ।

झिनुबाट हाम्रो वास्तविक यात्रा शुरु हुन्छ । हिडाइको यात्रा । उकाली ओरालीको यात्रा ।  अन्नपूर्ण बेस क्याम्पको यात्रा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेछ । नेपाली पर्यटकहरु भन्दा बढी विदेशी पर्यटकहरु बाटोमा देख्न सकिन्थ्यो । झिनुबाट ठाडै उकालो चढ्दै छोम्रोङसम्म पुग्न पर्ने रहेछ । मिलाएर बनाइएका सिँढीहरु चढेर त्यहाँ पुग्न लगभग दुई घन्टा समय लाग्ने रहेछ । जसको उचाइ समुद्री सतहबाट २१०० मिटरमा पर्ने रहेछ । त्यहाँ होम्स्टे र होटेलहरु निकै व्यवस्थित थिए । अलि अलि घान्द्रुकको झल्को पनि थियो । त्यहाँ खानपिन गरेर हामी अर्को स्टेसन सिनुवा भन्ने स्थानको लागि लम्किन्छौँ । त्यहाँसम्म आधाबाटो ओरालो र आधा बाटो उकालो रहेछ । छोम्रोङबाट ठाडो ओरालो हुँदै फेदमा झर्नुपर्ने र पुनः ठाडो उकालो हुँदै  सिनुवासम्म पुग्ने बेलामा सिधै बाटो बनेको भए पनि हुन्थ्यो भन्ने लाग्छ । त्यो उकाली ओराली छिचोल्न दुई घन्टा लाग्यो । त्यसमा पनि तल्लो सिनुवाबाट माथिल्लो सिनुवासम्म पुग्न पनि १ घन्टा जति लाग्यो ।  हिँड्ने बानी कत्ति पनि नभएको हुनाले यात्रा शुरु गर्दा निकै कठिन महसुस हुन्छ । श्वास फुल्छ । धड्कन तेज हुन्छ। खुट्टा दुख्छन् । आफ्नो शरीरको तन्दुरुस्ती पनि थाह हुन्छ ।  उकालो ओरालो गर्दै गर्दा मनुष्यको जीवनको झल्को आउँछ ।  त्यस्तै उतारचढावले नै त मनुष्यलाई परिपक्व बनाउँछ । प्रगतिको बाटो कोरिन्छ ।



थकान महसुस भएपनि हामी निरन्तर अगाडि बढिरहन्छौँ । सायद अन्नपूर्ण हिमालको सौन्दर्य नजिकबाट अवलोकन गर्ने इच्छाशक्तिले  हामी सबैलाई डोराएको  हुनुपर्छ ।
छोम्रोङको ओरालोसम्म हामी ६ जना नै लगभग साथसाथै हुन्छौँ । आफ्नो क्षमताअनुसारको गतिमा हिँड्नु ट्रेक गर्ने पहिलो सिद्धान्त हो । त्यो सिद्धान्तमा म र सविता( मेरी श्रीमति ) साथै हुन्छौं । अरु सहयात्रीहरुमा सुजित( सविताको भाइ) , शिव मामा अग्रपंक्तिमा , शिशिर ( सविताको भाइ) र जोया ( शिशिरकी श्रीमती ) साथसाथमा विचमा हिँड्छन् । हामी दुई जना सुस्त सुस्त सधैं अन्त्यमा हिँड्छौ ।
सिनुवामा फेरि सबैजना भेट हुन्छ । केही फोटो आदि खिचेर फेरि सबैजना ब्याम्बु भन्ने स्थानको लागि प्रस्थान गर्छौं।

अन्नपूर्ण ट्रेकमा निकै भिड हुने रहेछ । मान्छेहरुको जाने आउने क्रम निरन्तर चलिरहेको देख्न सकिन्छ । विभिन्न उमेर समूहका,  विभिन्न देशका यात्रीहरु त्यो बाटोमा भेट्न सकिन्छ । विदेशीहरु नमस्ते भन्दै अगाडि बढ्ने  गर्छन् । हामीहरु नमस्ते भन्दै उत्तर फर्काउँछौँ । यो दशैँ तिहारको मौसममा अन्नपूर्ण ट्रेक निकै व्यस्त हुने रहेछ । होटेलमा पहिले नै बुकिङ् नगरेमा रुम नपाइने रहेछ । ब्याम्बुमा हामीले ६ जना अट्ने एउटा ठूलो रुम फेला पार्यौँ । धेरै व्यस्तताको कारण धेरै जना किचेन डाइनिङ हलमा सुत्न पर्ने बाध्यता हुने रहेछ।

उमेर केवल संख्या ( Age is just a number)
सिनुवाबाट ब्याम्बु भन्ने स्थानसम्म पुग्न पनि लगभग तीन  घण्टा लाग्छ । मैले बाटोमा  भेटेको र सोधेकोमा ८ वर्षको बालकदेखि ६५ वर्षसम्मका व्यक्तिहरु ट्रेकिङको लागि हिँडेको देखियो। केही व्यक्तिहरु पुरै यात्राभरि लगभग साथसाथ हुँदा अनुहार चिनिने रहेछ । ५०-६० वर्षका उमेरका अन्कल अन्टी पनि हामी भन्दा राम्रोसँग हिँडेको देख्दा शारीरिक तन्दुरुस्ती निकै आवस्यक रहेको महसुस हुन्छ । हाम्रै समूहमा पनि शिव मामा हामी भन्दा उमेरले ८-१० वर्ष जेठो भएपनि यात्रामा सबैभन्दा अगाडी हुन्हुन्थ्यो। बिहान उठेर नियमित बुटवल हिलपार्कसम्मको  "मर्निङ वाक" गर्ने बानीले उहाँको शरीर मजबुत हुनुपर्छ । त्यसैले त भनिन्छ - Age is just a number.

ब्याम्बुको बसाइ

ब्याम्बुमा बसाइ सुखद नै हुन्छ । यात्राको छलफल पनि हुन्छ । नयाँ साथीहरु पनि चिनजान हुन्छ । एक जना दिल्ली बस्ने सि ए ( नाम:सागर) रहेछन् । एक जना शिक्षक , एक जना बिजनेसम्यान ( सुजन) रहेछन्। तीनै जना निकै मिल्ने साथी रहेछन् । त्यसैले होला कुरा काट्न नसकेर सुजन दोश्रोपटक अन्नपूर्ण ट्रेकमा आएका रहेछन् । सबैका खुटा दुखेकाले दुखाइ कम गर्ने gel प्रयोग गरेर खुट्टा माडेपछि हल्का आनन्द महसुस हुन्छ । त्यसैले त्यस्तो gel साथमा रहनु निकै महत्वपूर्ण हुन्छ ।

खर्चिलो ट्रेक ।

जति उचाइ बढ्दै गयो त्यति खाद्यसामाग्री  पुर्याउन कठिन हुने हुनाले खाना मह्नङो हुने भयो । एउटा अन्डाको रु ३५० , सादा खानाको रु ८०० आदि । तरकारीको नाममा आलु बाहेक अरु दुर्लभ नै थियो । खाद्यसामाग्री पुर्याउन भरियाहरुले  डोकोमा बोक्दै लगेको बाटोमा देख्न सकिन्थ्यो । त्यति धेरै सामान नाम्लोले बोकेर जाँदा त्यो तालु कति दुख्दो होला भन्ने लाग्छ । ती पोर्टरहरुको दैनिकी नै सामान बोक्ने र गन्तव्यमा पुर्याउने हो। बाटोले पोर्टरहरुलाई चिन्ने रहेछ ।  घोडा वा पोर्टरहरुको माध्यमबाट सामाग्रीहरु पुर्याउन पर्ने हुनाले खाना महङो हुनु स्वभाविक मान्नुपर्छ । त्यही पनि विदेशीहरुको बाहुल्यता बढी हुनाले अन्यत्रका दुर्गम ट्रेक यात्रामा भन्दा खर्च बढी लाग्ने रहेछ । जसको चपेटामा हामी नेपालीहरु परेको भान सायद सबैलाई हुन्छ । एउटा विशेष कुरा के अनुभव हुन्छ भन्दा जति उकालो लाग्दै गयो पानी भने मज्जाले खान पाइने रहेछ । पानीको पैसा नलिने रहेछन् । फर्किएर पुनः सहरमा पैसा लाग्ने पानीको बोत्तल किन्नुपर्ने सम्झिँदा त्यो खाना महङो हो कि सहरमा पाइने पानीको बोत्तल ??

ब्याम्बुदेखि माछापुच्छ्रे बेस क्याम्प
(दोश्रो दिन)


बिहानै ७ बजे ब्रेकफास्ट गरेर ब्याम्बुबाट दोभानको लागि हामी रन्किन्छौँ । उचाइमा पुग्न पर्ने लेक लाग्न सक्ने  हुनाले Acetazolamide नामको औषधि खान सुरु गरिसकेका हुन्छौँ । माछापुच्छ्रे बेस क्याम्पको उचाइ ३७०० मिटर हुन्छ ।
ब्याम्बुदेखि दोभानसम्म पुग्न दुई घण्टा लाग्छ । बाटो पहिलोदिनको भन्दा अलि सहज हुन्छ । उकालो ओरालो समथर सबै किसिमको बाटो हुन्छ ।
दोभानबाट हिमालय भन्ने स्थानसम्म जान हामीलाई १.५ घण्टा लाग्छ । त्यो बाटो पनि उकालो नै हुन्छ । हिमालय देखि देउराली सम्म पुग्न उकालो नै हुन्छ । तर झिनु र सिनुवाको जस्तो कठिन उकालो भने हुँदैन । त्यसको लागि दुई घण्टा समय लाग्छ ।
बाटोमा झरना, खोलाहरु, अग्ला अग्ला पहाडहरु सबै देखिन्छन् । घना जङल पनि पर्छन् । रुख बिरुवाहरुको प्रकृति पनि फरक फरक हुँदै जान्छ । वनस्पती शास्त्र को विद्यार्थीलाई यो ट्रेक त एउटा पाठ्शाला नै हो । तर त्यो यात्राभरी कुनै जंगली जीव जन्तु भने देख्दिन । कतै मनुष्यबाट भयवित त होइनन् !! जे होस् उज्यालोमा यात्रा गर्दा सुरक्षित महसुस हुने रहेछ । हरेक दुई तीन घण्टामा बासस्थान , बाटोमा हिँड्दा  पर्यटकहरुको ओइरो, बाटो पनि फराकिलो र मानव निर्मित हुनाले तुलनात्मक रुपमा सहज मान्नुपर्छ ।

हिमालय भन्ने स्थानमा निकै राम्रा होटेल रहेको अनुभूति हुन्छ । त्यहाँ धेरै समय रोकिने सुविधा थिएन । किनभने देउराली भन्ने स्थान कुनै पनि  होटेलमा रुम खाली नहुनाले हामी माछापुच्छ्रे बेस क्याम्प पुग्नैपर्ने बाध्यता हुन्छ । हिमालयबाट देउराली पुग्न हामीलाई दुई घण्टा लाग्छ । जहाँ हामीले खाना खान्छौँ । दिउँसोको ३ बजेको हुन्छ । तर आकाश पुरै तुवाँलोले ढाकिसक्छ । पानी पर्ला जस्तो गर्छ । तर सायद बादल त्यो दिन रुन सक्दैन ।
देउरालीबाट माछापुच्छ्रे बेसक्याम्प सम्म पुग्न पाँचवटा पहाड छिचोल्न पर्ने रहेछ । बाटो उस्तै उकालो र केही समथर हुन्छ । त्यहाँ भने हिँड्दा हिँड्दा पट्यार लाग्छ । अब आउँछ अब आउँछ भन्दा भन्दै बेलुका ५:४५ बजे बल्ल पुगिन्छ । हिँड्दा हिँड्दै टाढाबाट भएपनि घरहरु देखेपछि उर्जा प्रवाह हुन्छ । दुई घण्टाको बाटो भनेपनि उकालो हुनाले हामीलाई करिब तीन घण्टा नै लाग्छ । हामी त्यो स्थानमा पुग्दा समुद्री सतहबाट ३७०० मिटरको उचाइमा हुन्छौं । 
हामीभन्दा अगाडि पुगिसकेका साथीहरुले होटेल बुकिङ गरेकोले सहज हुन्छ ।
बिहान ३ बजेपछिको दौडाइ ।
( तेस्रो दिन)


माछापुच्छ्रे बेस क्याम्पबाट अन्नपूर्ण बेस क्याम्पसम्मको बाटो घाँसे  मैदानको बाटो हो भनेर भन्ने गर्थे । बिहानै ३ बजे उठेर नित्य कर्म गर्ने प्रयास गरेर अँध्यारोमा ३:५० मा रमाना हुन्छौं । चकमन्न अँध्यारोमा वरिपरि केही देखिन्न । बाटोमा मोबाइलको लाइट बाल्दै हिँडेको हिँडै गर्छौँ। सयौंको संख्यामा लामबद्द लाइट बालेर हिँडेको देख्न सकिन्छ । कसैले गीत बजाउँदै हिँडेका छन् । कोही दौडिरहेको प्रतीत हुन्छ । कोही लमक लमक गर्दै एक अर्कालाई उछिन्दै हिँड्छन्। सबैजनाको गन्तव्य अन्नपूर्ण बेस क्याम्प र उद्देस्य अन्नपूर्णको चुचुरोमा सूर्यका किरणले चुम्बन गरेको मनोरम  दृश्य हेर्ने इच्छा हुन्छ । त्यो दृश्य साँच्चै नै गजबको हुने रहेछन् ।  हामीले टर्च लाइट नलगेकोमा पछुतो हुन्छ । टोपी र पन्जा पनि बिर्सिएको हुनाले हात चिसोले गर्दा ठिहिराउँछन् । हातका औंला झर्लान् जस्तो गर्छन् । टोपी नलगाउँदा सिरेटोले टाउको हान्ने सम्भावना थियो । सविताको सललाई टाउकोमा बेरेर हिंड्न तयारी गर्दै थिएँ । ब्याम्बुमा र माछापुच्छ्रे बेस क्याम्पमा एउटै होटेलमा बस्न पुगेको अर्को समूहको दिल्लीबाट आएका सागरले ( चार्टर एकाउन्टेन्ट) आफूसँग रहेको एउटा टोपी मलाई दिनुहुन्छ । त्यसले निकै न्यानो गराउँछ । र मेरो यात्रा सहज बनाउँछ । जसको लागि धन्यवाद भनेर भन्दा सागरले भन्नुहुन्छ " मलाई double protection भन्दा कसैलाई single protection भएपनि राम्रो हुन्छ ! " मसँग धन्यवाद बाहेकको उत्तर हुँदैन । हिमालको नजिक जान लाइट, टोपी र पन्जा अनिवार्य रहेछन् भनेर नमेटिने ज्ञान प्राप्त हुन्छ ।

आलौकिक अन्नपूर्ण र माछापुच्छ्रे ।

हामी ६:०० बजे सुर्योदय हुने समयमा पुग्छौँ । दृश्य निकै मनमोहक देखिन्छ । निकै गज्जब देखिन्छ। उज्यालो आकाशमा तीनतिरबाट घेरिएको हिमालको फेँदमा करिब ४२०० मिटर उचाइमा समय व्यतित गर्न पाउनु सौभाग्य हो । अन्नपूर्ण,  मार्दी र माछापुच्छ्रेले घेरेको त्यो घासे मैदानमा जाडो याममा हिउँले ढाक्ने गर्छ । यो समयमा( दशैँतिहार) भने हिमाल आफैं  हिउँले भरिपूर्ण थिएन । केही क्षण बसेर नियाल्छु । सबैको हातमा क्यामेरा छन् । मोबाइल छन् । फोटो खिच्न व्यस्त छन्। हेर्दै रमाइरहेका छन् । झिनुदेखि चढ्दै आएको यात्राको सबै थकान पलभरको लागि बिर्सिन्छ । त्यहाँको अनुपम प्राकृतिक दृश्य मनमोहक हो वा कठिन यात्रापस्चात् देखिने दृश्य मनमोहक हो ? सायद कठिन यात्रापछिको सुखद अनुभुतीले प्राकृतिक सुन्दरतालाई अझै बेजोड बनाइदिन्छ । त्यस्ता दृस्य हेर्दा मस्तिष्कमा डोपामिनको मात्रा पक्कै बढ्छ होला । त्यसैले त खुसीको सन्चार हुन्छ।

यी संसार  देख्न सक्ने नयनहरु मलाई एकाएक अद्भुत लाग्छन् । ईश्वरप्रति त्यस्ता दिव्य नयनका लागि कृतज्ञ हुन्छु । जति क्यामेराले फोटो खिचेपनि आफ्नै आँखाले जति त्यो दृश्य कैद गर्न सक्दैनन् । ती अद्भुत नयनहरु नभए क्यामेराका फोटा पनि अर्थहीन हुन्छन् ।  त्यहाँ ध्यान गरेर त्यो आभामण्डलको उर्जा महसुस गर्ने इच्छा हुन्छ । तर त्यहाँ अचम्मको कोलाहल हुन्छ । सयौं मानिसहरुको भिड हुन्छ । फोटो खिच्ने प्रतिस्पर्धा नै चलेको जस्तो देखिन्छ । सबैका फोटो उत्कृष्ट नै हुन्छन् । त्यो प्राकृतिक सुन्दरताको क्यानभासमा जो कोहि पनि राम्रा देखिन्छन् ।  ती सबै फोटोहरु केही समयमा फेसबुकको भित्तामा अपलोड हुनेछन् । कसैले कुनै प्रतिस्पर्धामा पठाउन पनि सक्नेछन् । 
फेसबुकको स्टोरीमा देखिनेछन्। धेरै साथीहरु दृश्य हेरेर लोभिनेछन्। पर्यटन प्रवर्द्धन हुने पक्का नै छ । अन्नपूर्ण बेस क्याम्पमा लाखौं विचारहरु प्रवाहित हुन्छन् । कतै शान्त हिमालको शान्ती हामी मनुष्यले भङ्ग त गरेका छैनौँ ! त्यहाँ मानिस केवल फोटोको लागि जाने हो वा आलौकिक स्थानको आभा महसुस गर्न जाने हुन् । त्यो व्यक्ति विशेष रहस्य हुन् । पहिले पहिले सुनाउने देखाउने ठाउँ सिमित थिए । अचेल अनलाइनको दुनियाँमा देखाउने platform
कयौं छन् । दु:ख पाएर गरिने ट्रेकिङ आत्मसन्तुष्टिको लागि हो वा अहमसन्तुष्टिको लागि हो !! त्यही बाटो भरियाहरु जिविकोपार्जन गर्न हिँड्न पर्छ भने हामी सहरबजारको दैनिकीबाट एकाध पटक मनमा शान्ति खोज्दै जाने त होला ! विशाल हिमालको उपस्थितिले नै मनमा उर्जा प्रवाह गर्छ । सदगुरुले भन्छन् " यदि तिमी भित्र जीवन छ भने अप्ठेरो बाटो तय गर्छौ , यदि तिमी भित्र वास्तविक जीवन छैन भने केवल सुखसयल खोज्छौ । " त्यसैले पनि हिमालतिरको यात्रा आफू भित्रको यात्रा बन्न सक्छ । 





अन्नपूर्ण बेसक्याम्पबाट फर्किँदा

मनभरी सङालेर पनि नअट्ने अनुपम सुन्दरता उतै छोड्न पर्ने हुन्छ । फर्किँदा केवल यादहरुमात्रै लिएर हामी फर्किन्छौँ । पुनः उही बाटो फर्किनुपर्दा कता हो कता नरमाइलो लाग्छ। फेरि उकालो र ओरालोको शृङ्खला सुरु हुन्छ। १०:३० बजेतिर माछापुच्छ्रे बेस क्याम्पमा खाजा खाएर हामी ६ जना ओरालो लाग्छौँ ।  बाटो पुरै ओरालो हुनाले केही सहज महसुस हुन्छ । तर सविताको घुँडामा स्प्रेन भएको कारणले हिँडाइ सुस्त हुन्छ । दायाँ र बायाँ खुट्टा बराबर प्रयोग गर्न नमिल्ने हुन्छ ।  हाम्रा अरु चार जना साथीहरु धेरै अगाडि नै पुगिसकेका हुन्छन् । त्यसपछि कुनै स्टेशनमा कसैसँग भेट हुँदैन । देउराली भन्ने स्थान पुग्न हामीलाई दुई घन्टा लाग्छ।

सुस्त हिँडाइमा अझै सुस्तपन ।

देउरालीबाट फेरि ओरालो झर्दै हिमालय भन्ने ठाउँ पुग्छौं । त्यहाँ पुग्दा २:३० बजेको हुन्छ । खाना खाएर तहाँबाट ३ बजे निस्किन्छौँ । तर एकाएक पानी पर्छ । बिहान हिँड्न ब्याम्बुसम्म पुगिन्छ कि भन्ने आश थियो । तर हामी दुई जना दोभानभन्दा तल झर्न सकिन्न भन्ने एकिन हुन्छ । प्लास्टिकलाई ओढेर हामी सुस्त सुस्त तल झर्छौँ । पानी परेकोले बाटोमा चिप्लिन सक्ने सम्भावना प्रबल थियो । त्यो प्लास्टिकलाई रेनकोटजस्तो बनाउन बिचमा काट्नुपर्ने रहेछ । बाटोमा हिँड्ने एक जना पर्यटकसँग एउटा ब्लेड मागेर कामचलाउ रेन्कोट बनाएर अगाडी बढ्छौँ । प्रकृतिमा कसैको नियन्त्रण हुँदैन । त्यसैले ट्रेक जाँदा पानी पर्ने सम्भावनालाई नकार्न मिल्दैन ।
बल्लतल्ल दोभान पुग्छौँ । करिब ५:३० बजेतिर हामी उपल्लो दोभान पुग्छौँ । 

घुर्ने साथी मस्त ,हामी सबै अस्तव्यस्त ।

रुम सबै बुकिङ भइसकेको रहेछ । हिमालयमा खाना खाने बेलामा फोन गर्दा रुम सबै सकिसकेको र बासले छाएको घरमात्रै खाली रहेको भनेर भनेका थिए । त्यो कुरा मैले दोभान पुगेपछि बल्ल महसुस गर्न पाएँ । बाँसको घरमा त १५-२० जना एकै ठाउँ सुताउने रहेछ । अलि धेरै अनुनय विनय गरेपछि एउटा बेड खाली रहेको र त्यो रुम अरु ४ जना सँग बस्नुपर्ने कुरा होटेलको साहुजीले भन्छन् । बाध्यता थियो । स्वीकार गर्नै पर्यो । त्यही होटेलको डाइनिङ हलमा पहिलो दिन ब्याम्बुमा बस्दा परिचय भएको तीन जना मध्यमा दुई जना- सुजन र विजयसँग भेट हुन्छ । दुवैजना निकै मिल्ने साथी रहेछन् । मामा भान्जाको नातो लगाएका । विजयलाई पखाला लागेको कारणले रोकिएका रहेछन् । नत्र त घोडाजस्तै दौडिने विजयलाई भेटाउन असम्भव नै हो । त्यहाँ केही बातचित गरेर रारा चाउचाउको सुप खान्छौँ । ज्यान अलि तातेजस्तो हुन्छ ।


घुर्नु एउटा समस्या हो । त्यसले अरुको निद्रा बिगार्छ भन्ने कुरा सर्वविदित नै हो । सायद १० जनामा ३ जना मान्छे घुर्छन् नै । घुर्नुमा व्यक्तिको दोष केही हुन्न । त्यसैले रिसाउन पनि मिल्दैन । रुममा सुत्ने एक जना कोरियन र ३ जना बङाली थिए । ती  कोरियन पर्यटक निकै जोडले घुर्ने रहेछन् । निद्रा कुम्भकर्णको जस्तो भान हुन्थ्यो । जसको कारणले पुरै रात निद्रा बिथोलिन्छ । एक समय त नाक थुन्दिम् जस्तो भएको थियो । तर मानवीय र पर्यटकीय मर्यादाले केही गर्न सकिने अवस्था थिएन ।  बिहान ६ कहिले बज्छ भनेर कुर्नु सिवाय अरु विकल्प हामीसँग थिएन । जुन व्यक्तिलाई जस्तो सुकै परिस्थितिमा पनि निद्रा लाग्छ, त्यो व्यक्ति निकै भाग्यमानी हो । भविष्यमा ट्रेक जान पर्दा कानमा राख्न मिल्ने ear phone भएपनि लैजान पर्छ भन्ने अनुभव हुन्छ ।

दोभानदेखि झिनुसम्म ।
( चौँथो दिन)


बिहानको खाजा खाएर निस्किँदा ढिला हुन्छ । हामी बिहान ७:४५ मा उपल्लो दोभानबाट निस्किन्छौँ । तल्लो दोभान १५ मिनेटमा नै पुगिन्छ । बिहानी जोश र ओरालोले गर्दा हुन सक्छ । त्यसपछि ब्याम्बुसम्म पुग्दा २.५ घन्टा लाग्छ । त्यहाँ पुगेर पहिलो दिन बस्दा छोडेका सामानहरु लिएर सिनुवाको लागि रमाना हुन्छौँ । अहिलेसम्मको बाटो सहज नै हुन्छ । सिनुवा पुग्ने बाटोमा पुरै नाक ठाडो उकालो हुन्छ । माथिल्लो सिनुवा पुग्दा १ बज्छ। उपल्लो सिनुवाबाट तल्लो सिनुवा पुग्दा १:५० बज्छ । त्यसपछि छोम्रोङ पुग्दा ४:१० बज्छ। छोम्रोङको उकालो चढ्ने बेलामा एकै क्षण विश्राम गरिरहेका हुन्छौं । एक जना ताइवानिज नर्स आएर केही सहयोग चाहिन्छ भनेर भन्छिन् । उनले खुट्टा खोच्याएर हिँडेको देखेकी रहेछिन् । मैले दुखाइ कम गर्ने स्प्रेको आश गर्छु । उदार हृदय नै मान्नुपर्छ उनले आफ्नो gel पूरै  दिन्छिन् । त्यो gel लगाइसकेपछि हिँडाइ धेरै सहज हुन्छ । छोम्रोङबाट झिनुसम्म १ घन्टामा झरिन्छ भनेर हिँडेका हुन्छौं । तर हामिलाई पूरा दुई घन्टा लाग्छ त्यो ओरालो झर्न । गाडी पाइने ठाउँ पुगेर ७ बजे पोखरा नै जाने निर्णय गर्छौँ र ९:३० मा पोखरा लेक साइडमा ओर्लिन्छौँ। हाम्रा अरु चार जना साथीहरु बुटवल पुग्नै पर्ने भएकोले रमाना भइसकेका हुन्छन् ।  म र मेरी सहयात्री सविता भने पोखरा नै बस्छौँ । 

नितान्त व्यक्तिगत विचार

अन्नपूर्णको काखमा चिसो हावामा घमाइलो मौसममा हराउन खुब मन लाग्छ । त्यो घाँसे मैदानमा केही समय सुतेर बिताउन मन लाग्छ । एक किसिमले भन्नुपर्दा दैनिक जीवनको हतारोपनबाट टाढा बस्ने उद्देश्यले गएपनि त्यहाँ पनि वातावरणमा हतारपनको गन्ध हुन्छ । कसैलाई फोटो खिच्ने हतारो , कसैलाई तीन दिनमै अन्नपूर्ण ट्रेक सकेको भनेर गफको विषय बनाउने हतार आदि आदि । जे होस् कसैमा पनि रफ्तारको कमी भने देखिन्न । पहिले घुम्न जाँदा पैसा नपुगेर हतार हुन्थ्यो अहिले घुम्न जाँदा समय र विदा नपुगेर हतार हुन्छ । कसैलाई पारिवारिक कार्यजिम्मेवारीले हतार हुन्छ । र यो सबै नेपालीलाई मात्रै हुने हो जस्तो लाग्छ । हामीले पनि सायद ४ दिनमा नेपाली हुनुको परिचय दियौँ । पर्यटन प्रवर्द्धन भनेर सरकारले केही रकम र एक हप्ता विदा दिएपनि पोहोर सालका फोटा टाँस्न छोडिन्न । हामी सबै हतारको बोझले थिचिएका छौँ । पारिवारिक बोझले थिचिएका छौँ ।





सम्झनामा .......
यसरी एउटा यात्रा घुमिफुरी पूरा हुन्छ । यात्रा सँगै सुरु गरेका साथीहरु, बाटोमा सद्भाव जनाउने पर्यटकहरु, ताइवानिज नर्स, बेला बेला उकालो चढ्न तागत दिने स्निकर, र हरेक पाइला साथ दिने गोल्ड्स्टार जुत्ताको विशेष सम्झना रहनेछ । जुत्ता भनेको गोल्डस्टार नै हो  भन्ने कुरा यस यात्राले अनुभव हुन्छ। आरामदायी तरिकाले यात्रा कटेकोले गोल्ड्स्टार कम्पनी अन्तरास्ट्रिय ब्रान्ड बनोस् भन्ने मेरो सदिच्छा ।  मेरी सहयात्री तथा जीवन सङिनीप्रति विशेष माया । पुनः अर्को पटक यस्तै कुनै यात्रा सकुशल पूरा गर्न पाइयोस् भन्ने भगवानसँग प्रार्थना गर्छु  र यस यात्राको लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु । आखिर प्रारम्भ नै अन्त्य रहेछ ।

Comments

  1. Kasari word lai connet garna sakne k sir le. 👍

    ReplyDelete
  2. Travel blog padda yakxin tehi yo man haraux.. simple and utkrist lekhan dr. saab. God bless you🎎

    ReplyDelete
  3. लेकमा जादा सबैले Acetazolamide अनिवार्य नै खानु राम्रो हो कि ?

    ReplyDelete
    Replies
    1. Altitude herera khanu ramro hunchha. Sabaile khada kei hunna. Prophylaxis ho.

      Delete
  4. Thank you so much dai !! Blessed to be part of this blog

    ReplyDelete
  5. Khayo dai market 💝

    ReplyDelete

Post a Comment

Popular posts from this blog

मृगौला रोगको एउटा गोठालो यात्रा

बाटो बिराएका रोगहरु ।