डा नन्दुले सुल्झाएको गार्सिनियाको रहस्य ।

डा नन्दुले सुल्झाएको गार्सिनियाको रहस्य ।  ।

प्यारा टिक टक तथा सोसल मिडिया  स्टार साथीहरु । तपाईंलाई धेरै जनाले आफ्नो आदर्श मान्नुहुन्छ । धेरै जनाले विस्वास गर्नुहुन्छ । तर त्यो विस्वासले व्यक्तिको जीवन सकारात्मक परिवर्तन गर्नुपर्ने हुन्छ ।
कुनै पनि कुराको प्रचार गर्दा सो कुराको सम्पूर्ण ज्ञान लिएर मात्रै गर्नु उत्तम हुन्छ । तर हामी सबैजना अध्ययन भन्दा पनि गफ र लहै लहैमा बढी बहकिएको महसुस हुन्छ । हुन त असल कुराहरु समाजमा सजिलै  फैलिँदैनन् । केवल नकारात्मक कुराहरुप्रती  आकर्षण बढी हुन्छ । मैले लेख्न गइरहेको विषय अन्त्यसम्म पढ्न सक्नुभयो भने सायद तपाइँ फरक किसिमको व्यक्तित्व हुनुहुन्छ । अध्ययनलाई रुचाउनुहुन्छ ।

अचेल धेरै जनालाई दुब्लाउन मन लागेको छ । तौल बढ्नु खानपिनको समस्या हो । खाने समयमा आँखा नदेखिकन अधिक कार्बोहाइड्रेट खाने तर ज्यान चाहिँ "स्लिम " चाहिने ? यो चाहिँ कल्पनामा मात्रै हुन्छ ।एक पटक ज्यानमा बोसो ( Fat) जमिसकेपछि त्यो Fat cells बाट टुक्रेर हट्न निकै गार्हो हुने हुनाले समयमै व्यायाम र खानपिनको सन्तुलन मिलाउन पर्ने हुन्छ ।
मोटोपन घटाउनको लागि व्यक्तिले कुनै पनि हदसम्म जान सक्छन् भन्ने कुरा देख्न सकिन्छ । विशेषगरी सौन्दर्यलाई विशेष मान्ने व्यक्तिहरु व्यायाम र खानपानको कठिन अनुशासन भन्दा अनलाइनमा प्रचार गरिने हरेक औषधिको प्रयोग गर्न सक्छन् । त्यस्तै एउटा उदाहरण हो - तौल घटाउन भनेर प्रयोग गर्न प्रचार गरिएको "गार्सिनिया काम्बोगिया। " । मोटा व्यक्तिहरु दुब्लाउन मन हुनाले त्यस्तो भ्रामक प्रचारलाई पनि स्वीकार गर्न बाध्य हुन्छन् । अनि प्रयोग गर्न थाल्छन् गार्सिनिया क्याम्बोगिया नामक औषधी ।

सो औषधि बनाउने उद्देश्य व्यापार हो वा वास्तविक औषधि नै हो भन्ने कुराको निर्क्यौल सम्बन्धित औषधि विभागले गरोस् ।  । के कति किलो वजन घट्यो त्यसको अनुसन्धान हुँदै गरोस् । तर सो औषधि सेवन गर्नाले व्यक्तिको शरिरमा विभिन्न समस्याहरु उत्पन्न भएको कुरा तथ्य नै हो । जस्तै पेट दुख्नु , रक्तअल्पता हुनु , मन्द बुद्धि हुनु, छारे रोग आउनु आदि ।  अब एउटा कथा सुनौँ न । प्रसिद्ध र वरिष्ठ फिजिसियन डा नन्दु पाठकसँग देखाउन पुगेका एक बिरामीको रोग र निदानको कथा सुनौँ ।

एक जना युवक ८ दिन देखि पेट दुख्ने र जन्डिस भएर अस्पताल आउँछन् । उनले समयसमयमा रक्सी पनि सेवन गर्ने गरेको कुरा आफन्तले भनेपछि पेट दुख्नुको कारण अग्नाशय (pancreas) मा समस्या भएको अनुमानले सि टि स्क्यान गरिन्छ । तर त्यो पुर्ण सामान्य आउँछ । रगतको जाँचमा रक्तअल्पता मात्रै देखिन्छ । त्यसमा कुनै कारण भेटिँदैन ।

चिकित्सकलाई विस्मयमा पार्ने त्यो युवकलाई उपचारकै क्रममा छारे पनि आउँछ । त्यसको कारण पनि स्पष्ट हुँदैन । कुनै पनि औषधिले पेट दुखेको कम हुँदैन । जन्डिस पनि भएको कारणले कुनै आयुर्वेदिक वा जडिबुटी औषधी चिकित्सकको सल्लाह विना सेवन गरेको बारेमा पुनः सोध्ने क्रममा ती युवकले अनलाइनबाट किनेर एउटा औषधि खाइरहेको जानकारी प्राप्त हुन्छ । जुन कुरा घर परिवारलाई पनि थाह रहेनछ । त्यो औषधिको नाम गार्सिनिया क्याम्बोगिया हुन्छ । उनले मोटोपन घटाउनको लागि भनेर त्यो अनलाइनबाट किनेका थिए । त्यसमा Lead को मात्रा हुने कुरा पुष्टि गर्न  रगतमा Lead को मात्रा जाँच गर्न पठाइन्छ । अनुमान गरे अनुरुप Lead को मात्रा अत्याधिक नै आउँछ । अन्ततः Lead poisoning भएको भन्ने कुरामा दुविधा रहन्न ।

यो रहस्य सुल्झाउन त्यो मोटोपन घटाउने औषधिको बारेमा थाह नभएको भए पत्ता लाग्दैन थियो । त्यस्तै गरी त्यो औषधि सेवन गरेका धेरैमा Lead toxicity भएर अस्पताल भर्ना भएको कुरा ठाउँठाउँबाट पुष्टि भइसकेको छ । हुन सक्छ त्यो औषधिले मोटोपन घटाउला । त्यसको प्रसोधन गर्ने क्रममा त्रुटी भएको हुन सक्छ । आयुर्वेद चिकित्साले त्यसको खण्डन गर्न सक्छ । तर सो औषधि जसले उत्पादन गरेको हो त्यसमा त्रुटि भने अवस्य छ । आम जनमानसको स्वास्थ्यको प्रवाह नगरी दुब्लाउन चाहाना हुने आमभावनालाई व्यापार गर्ने माध्यम भने पक्क बनाइएको छ । जसका मतियार बनेका छन् हजारौं Followers हुने टिकटक र इन्स्टाका स्टारहरु । त्यसको डरलाग्दो भयानक असर  हुँदाहुँदै अनलाइनमा विज्ञापन गर्नु र गर्न दिनु सामाजिक अपराध हो ।

स्वास्थ्य विज्ञानको ज्ञान नहुने जो कोहिले पनि दुब्लाउने औषधि भनेपछि सजिलै पत्याउन सक्छन् । जसलाई पनि " slim" र "fit" हुन मन लोभिन्छ नै । जनमानसको त्यो मनोभावनालाई व्यापारको अस्त्र बनाउनु कदापी स्वीकार्य हुन सक्दैन ।
सावधान । कतै तपाईं मोटोपन घटाउने भन्दै बजारमा पाइने अनुसन्धान नभएका Garcinia cambogia जस्ता औषधी त प्रयोग गर्दै हुनुहुन्न ?? 

Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

मृगौला रोगको एउटा गोठालो यात्रा

बाटो बिराएका रोगहरु ।