टाइफाइड ज्वरो भन्दा Widal test को आतंक बढी।


टाइफाइड ज्वरो भन्दा Widal test को आतंक बढी।

समाजको वास्तविक जरो भनेको चेतना रहेछ । चेतनाको जरो बलियो भयो भने शिक्षाको हाँगाविँगा जति बलियो भएपनि व्यवहारमा परिवर्तन नहुने रहेछ ।   मनुष्यको चेतनाशक्तिले कुनै पनि विषयलाई कसरी बुझ्ने गर्छ भन्ने कुरो निकै महत्वपूर्ण हुने रहेछ । गरिब मुलुकमा सरुवा रोगको निकै चाप थियो र छ पनि। सरसफाइमा कमी , शुद्ध पानीको अभाव ,  संक्रमित खानेपानी सबै सरुवा रोगको निम्ति कारक तत्व हुन् । तर कुनै रोग भने जति शुद्ध पानी खाने गरेपनि ज्वरो आउँदा टाइफाइड नै कहलिन्छ !!

टाइफाइड भन्ने रोगको जरो  हाम्रो समाजमा निकै गहिरो र बलियो छ । धेरैलाई टाइफाइडबाट निकै डर लाग्ने गर्छ । डर नलागोस् पनि किन ?

कतिका ज्यान गएको कुरो गाउँघरमा सुनेकै हो । धेरै सुनिने कुरामा टाइफाइडले त आन्द्रा नै प्वाल पार्ने गर्छ । टाउफाइडले त मस्तिष्क हानेर बहुलाहा गराउँछ । टाइफाइड निख्रेन भने हरेक महिना ज्वरो आउँछ । टाइफाइडले ज्यान सजिलै जान्छ । अझ सजिलो गरि भन्नुपर्दा गाउँघरमा ज्वरो भनेकै टाइफाइड हो । टाइफाइड भनेको "कुखत" हो । यस्तै यस्तै कुराहरु सुनिने गर्छ गाउँघर सहरबजारमा ।

टाइफाइडको कथामा प्रवेश गर्नुपूर्व एउटा कुरा प्रष्ट हुनु पर्छ । यो एउटा व्याक्टेरियाको कारणले हुने रोग हो । जसले आन्द्रामा संक्रमण गरी रक्तनली हुँदै रक्त प्रवाहको  माध्यमबाट शरीरमा फैलिने गर्छ । र ज्वरो , टाउको दुख्ने , पेट दुख्ने , खाना रुचि नहुने , थकान महसुस हुने आदि हुन्छ । तर  ज्वरो विनाको टाइफाइड चाहिँ हाम्रै देशमा किन हुने गर्छ !! खै किन होला ? चिकित्सा शास्त्रमा त टाइफाइड ज्वरो अर्थात् Typhoid fever ( Enteric fever) भनेर नामकरणमै ज्वरो राखिएको छ । ज्वरो विनाको टाइफाइड  अचम्मको कुरा होइन र ?  र हरेक ज्वरो टाइफाइड हो भन्ने पनि भ्रम हो ।

अब हरेक ज्वरो कसरी टाइफाइड नै हुन पुगे त ?

टाइफाइडको लक्षण मिल्दोजुल्दो हुँदा रगत जाँच गर्न Blood culture अर्थात् रगतको कल्चर गरेर टाइफाइडको किटाणु साल्मोनेला टाइफी ( Salmonella typhi )  भन्ने किटाणु देखिन्छ । तर blood culture गर्ने चलन न चिकित्सकले चासो दिन्छन् न बिरामीले न ल्याबले । ल्याबको गुणस्तरमा समस्या हुने , माइक्रोबायोलोजिस्ट नहुने , रिपोर्ट अलि खर्चिलो हुने र सुलभ नहुने हुनाले दशकौँदेखि रगतबाट नै गरिने सामान्य टेस्ट "Widal test" को साहारा लिएको पाइन्छ । जुन टेस्टले रोग एकीन गर्ने भन्दा पनि झुक्किने गर्छ , झुक्काउने गर्छ। एक पटक टाइफाइड भएको व्यक्तिले उपचार गरेर सन्चो भएपनि त्यो टेस्टले महिनौंसम्म टाइफाइड नै देखाउने गर्छ । यो टेस्टको बारेमा पूर्ण ज्ञान नभएर झुक्किनु स्वभाविक मान्न सकिन्छ । तर यहि टेस्टको झुक्काउने प्रकृतिलाई लिएर बिरामीलाई झुक्काउन भने राम्रो मान्न मिल्दैन ।

हरेक पटक टाइफाइडको जाँच गरेर हेर्नू नै मुर्खता हो । शरीर रन्किएपनि टाइफाइड , ज्वरो आएपनि टाइफाइड , जन्डिस देखेपनी टाइफाइड , मुख तितो भएपनि टाइफाइड , टाउको दुखेपनी टाइफाइड आदि । अब सपना धेरै आएपनि टाइफाइड भन्न मात्रै बाँकी छ !!  हुँदाहुँदै ज्वरो टाइफाइडले नै हो भन्दै न्युमोनियाको बिरामीलाई पनि टाइफाइड भन्दै हप्तौं भर्ना गरेको देखिन्छ । यस्तो झुक्काउने टेस्ट, एक पटक गरेर मात्रै टाइफाइड भन्न नमिल्ने टेस्ट अझैसम्म प्रयोगमै राख्नु राम्रो कुरा भने होइन।

टाइफाइडको आतंकभन्दा पनि Widal test को आतंक धेरै देखिन्छ । शरीरमा प्रवेश गरेको टाइफाइड लाग्ने व्याक्टेरियाको विरुद्धमा प्रतिरक्षा प्रणालीले निकाल्ने तत्व ( antibody ) को मापन गरेर गरिने Widal test सामान्यतया पनि positive देखिने गर्छ । विकासोन्मुख मुलुकमा बस्ने मानिसलाई जति प्रयास गरेर जोगिन खोजेपनि अशुद्ध खानेपानीबाट सर्ने रोग लाग्ने सम्भावना बढी नै हुन्छ । टाइफाइड पनि त्यस्तै रोग हो ।
टाइफाइडसँग लक्षण मिल्दोजुल्दो रोगहरुमा मलेरिया, स्क्रब टाइफस , कालाजार , ब्रुसेला आदि रहेका छन् । Widal test पोजिटिभ आयो भनेर टाइफाइड हो भनेर ढुक्क उपचार गर्दा वास्तविक उपचार ढिलो हुने , रोग छिप्पिँदै  जाने , खर्च पनि बढ्ने हुन्छ । कुनै पनि ज्वरो आउने रोगहरुका आधारभूत लक्षण एउटै हुने गर्छन् । जसको निर्क्यौल गर्न अनुभव र टेस्ट आवस्यक छ । तर Widal test कुनै पनि हालतमा चमत्कारिक टेस्ट मान्न मिल्दैन ।  केही मात्रामा सहयोगी टेस्ट मात्रै हुन सक्छ ।

हो । टाइफाइडको उपचार राम्रोसँग गरिएन भने जटिलता आउने गर्छन् । टाइफाइडको संक्रमण भएको तेस्रो हप्तामा आन्द्रामा प्वाल पर्ने , मस्तिष्कमा असर गर्ने आदि जटिलताले ज्यान जाने पनि गर्छ । औषधि उपचार पहिले भन्दा धेरै सहज हुँदै गएकोले टाइफाइड छिटो नै पत्ता लाग्ने हुनाले ज्यान जोखिम हुने  समस्या भने अचेल कम नै देखिन्छ । अहिले टाइफाइड ज्वरो भन्दा पनि Widal टेस्टको आतंक भने कायम नै छ ।


Comments

Popular posts from this blog

भारत यात्राको एक झल्को , सिक्नु छ धेरै ।।

मृगौला रोगको एउटा गोठालो यात्रा

बाटो बिराएका रोगहरु ।