Posts

Showing posts from 2024

साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु !!

साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु !! डा शम्भु खनाल मनुष्यको इहलिला यही संसारमा खेल्दै रम्दै भुल्दै समाप्त हुन्छ । दौडधुप जीवनको पर्याय नै बनेको छ । दौडधुप गर्न मन नलाग्ने भनेको एउटा अदालत होला । त्यसपछि त अस्पताल नै हुनपर्छ । आस्चर्यजनक कुरा के हो भन्दा धाउन नपर्दासम्म सबैजनालाई आफू अजर अम्मर नै लाग्छ। सबैलाई धाउन मन नलाग्ने अस्पतालमा भने अस्पतालका कर्मचारी सधैं जानपर्छ । ती अजर अम्मर मनुष्यका कथा व्यथा सबै देखिन्छ, बुझिन्छ । बानी नै पर्छ । एमर्जेन्सीमा मुटुको समस्या भएर आउने बिरामी हेर्दा हेर्दा आफ्नो सपनामा पनि मुटुको स्पन्दन देख्नु कुनै नौलो कुरा होइन । एक दिनको कुरा हो एमर्जेन्सीमा "इको " गर्ने प्रयास गरिरहेको थिएँ । एक जना बाजे पस्चिम नेपालबाट आएका रहेछन् । उमेर अन्दाजी ७० वर्षको हुनपर्छ ।  उमेरले भन्दापनि परिश्रमले खारिएका ती बाजेको दशकौँ इतिहास बोकेको इस्टकोटले ग्रामिण भेगको सम्पन्नता झल्काउँथ्यो। उनका खोपिल्टा परेका गालाले जीवनमा भरपेट खान नपाएको अभावको खाडल देखाउँथ्यो । उनको खुम्चिएका निधारले आफ्नो जिम्मेवारीको चिन्ताका रेखाहरु देखाउँथ्यो । उनको शिरमा अडिन गार...

नेपाल पूर्वको यात्रा , सिकाउँछ पाठ धेरै ।

Image
नेपाल पूर्वको यात्रा , सिकाउँछ पाठ धेरै । खण्ड   "क"   यात्रा पृष्ठभूमि यात्रा एउटा आफैलाई चिन्ने मौका हो। अरुलाई चिन्ने अवसर पनि हो। यात्रामा आफ्नो आशाअनुसार र आफ्नो अनुकूलको वातावरण नहुन सक्छ । कहिले सजिलो यात्रा हुन्छ त कहिले कठिन यात्रा हुन्छ । हरेक अवस्थामा आफूलाई अनुकूल बनाउने प्रशिक्षण पनि यात्राले प्रदान गर्छ । हामी यात्रा गर्न शौखिन हुनाले धेरै जना साथीहरु मिलेर जाने सल्लाह हुँदाहुँदै पनि कारणवश सबैको समय अनुकुल पर्दैन । त्यसैले भाइटिकाको अर्को दिन विहान हामी दुई जना (म र मेरी पत्नी सविता)  सल्लाह गरेर एकाएक निस्किन्छौँ  पूर्व नेपालको  यात्रामा । बुटवलबाट विर्तामोडसम्मको कटु यात्रा । वीरगन्जभन्दा उता कहिल्यै गएको थिइन । दिउँसो ३ बजेको काँकरभिट्टाको बसमा चढेर अर्को दिन बिहान १० बजे विर्तामोड उत्रिन्छौँ । सोचेको भन्दा गाडीले ढिलो पुर्याएको पक्कै हो । धन्य हाम्रो विकासोन्मुख सडकनिर्माणलाई !! हामीलाई विर्तामोडबाट उत्तर पर्ने ताप्लेजुङ जिल्लास्थित पाथिभरा मन्दिरको दर्शन गर्ने हेतुले गाडी खोज्छौँ । तर ताप्लेजुङ जाने गाडीको टिकेट बिहान ९ बजेसम्म मात्रै हुने र...

अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !!

Image
अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !! ( यो एउटा यात्रा अनुभव मात्रै हो । पट्यार लागेमा क्षमाप्रार्थी छु ।) प्रारम्भ : शरद रितु निकै मनोरम रितु हुन्छ । न धेरै गर्मी न धेरै जाडो । चाडपर्वको मौसम । दशैँ तिहार छठ पर्वको मौसम । सबैको विदा आदि पर्ने मौसम । अस्पतालको दैनिकीबाट टाढा हुन खोज्ने मनहरु मिल्न पुग्दा यात्राको तय हुने गर्छ। यसपटक पनि अचानक अन्नपूर्ण बेस क्याम्पको यात्रा तय हुन्छ । र झिनोमसिनो तयारी गरेर यात्राको लागि ६ जना निस्किन्छौँ । त्यसमाथि म तीन वर्ष फेरि डि एम कार्डियोलोजीको बन्धनमा घोडाजस्तै दौडिन पर्ने निकट भविष्य सम्झिएर घुम्ने इच्छा पूरा गर्नु पनि थियो । बुटवलबाट २ बजे निस्किएर पोखरा साँझ बस्ने गरी निस्किने भनेको हिँड्दा नै ४:३० बज्छ । इलेक्ट्रिक गाडीलाई चार्ज गर्न ढिला भएकोले समयमा हिंड्न नसकेको भन्दै थिए ड्राइभरले । सोही गाडीलाई पुनः स्याङ्जामा चार्जिङ गर्नुपर्ने रहेछ । यसो विचार गर्दा सार्वजनिक एलेक्ट्रिक गाडी प्रयोग गर्ने चार्जिङ स्टेसन आदिको  संरचनाको विकास अझै भइसकेको देखिन्न । त्यसैले मलाइ भने जाती लागेन । यात्रा प्रारम्भ ( प...

चिकित्सा पेशाको कुन्डली । भाग्य वा मिहिनेत वा सक्षमता ?

चिकित्सा पेशाको कुन्डली । भाग्य वा मिहिनेत वा सक्षमता ? चिकित्सक हुनभन्दा पहिले सो चिकित्सक एउटा व्यक्ति हो । साधारण मानव हो । जसका आफ्ना इच्छा र आकांक्षा हुन्छन् । मन पनि हुन्छ । सोचाइ विचार सबै हुन्छ । चिकित्सकीय पेशालाई स्कुलमा निकै उच्च मुल्यांकनका साथ पढाइने गरिन्छ । ठूलो बनेपछि डाक्टर इन्जिनियर बन्नुपर्छ भन्दै रटाइन्छ ।   जसको निरन्तरता कलेज पढ्ने समयमा पनि गरिन्छ । जुन कुराको दृश्य पुतलीसडकमा देख्न सकिन्छ । पढाइमा अब्बल मानिने सबै विद्यार्थीको ध्यान केवल मेडिकल शिक्षा प्रवेश गर्नेमा रहन्छ । जुन मेरो पनि थियो ।  त्यो समयमा केवल पढाइमा मात्रै ध्यान केन्द्रित हुन्छ । विस्व जगतमा उठ्ने चिकित्सकिय पेशाका तमाम प्रश्नहरु फगत आलोचना र नकारात्मक चिन्तनबाट उब्जिएका विषयवस्तु हुन् जस्तो लाग्छ  । आफ्नो दैनिकीलाई प्रत्यक्ष प्रभावित नपार्ने घटनाहरुलाई चासो दिने गरिन्न । जस्तै कतै पुल भत्कियो भन्ने समाचारलाई कति महत्वका साथ लिने गरिन्छ भन्ने कुराले आफुलाई  प्रत्यक्ष असर पर्नुपर्यो वा साँच्चै चिन्तित स्वभावको व्यक्ति हुन पर्छ । त्यस्तै चिकित्सकिय विषय पढ्ने ध्याउन्न भए...

डा नन्दुले सुल्झाएको गार्सिनियाको रहस्य ।

डा नन्दुले सुल्झाएको गार्सिनियाको रहस्य ।  । प्यारा टिक टक तथा सोसल मिडिया  स्टार साथीहरु । तपाईंलाई धेरै जनाले आफ्नो आदर्श मान्नुहुन्छ । धेरै जनाले विस्वास गर्नुहुन्छ । तर त्यो विस्वासले व्यक्तिको जीवन सकारात्मक परिवर्तन गर्नुपर्ने हुन्छ । कुनै पनि कुराको प्रचार गर्दा सो कुराको सम्पूर्ण ज्ञान लिएर मात्रै गर्नु उत्तम हुन्छ । तर हामी सबैजना अध्ययन भन्दा पनि गफ र लहै लहैमा बढी बहकिएको महसुस हुन्छ । हुन त असल कुराहरु समाजमा सजिलै  फैलिँदैनन् । केवल नकारात्मक कुराहरुप्रती  आकर्षण बढी हुन्छ । मैले लेख्न गइरहेको विषय अन्त्यसम्म पढ्न सक्नुभयो भने सायद तपाइँ फरक किसिमको व्यक्तित्व हुनुहुन्छ । अध्ययनलाई रुचाउनुहुन्छ । अचेल धेरै जनालाई दुब्लाउन मन लागेको छ । तौल बढ्नु खानपिनको समस्या हो । खाने समयमा आँखा नदेखिकन अधिक कार्बोहाइड्रेट खाने तर ज्यान चाहिँ "स्लिम " चाहिने ? यो चाहिँ कल्पनामा मात्रै हुन्छ ।एक पटक ज्यानमा बोसो ( Fat) जमिसकेपछि त्यो Fat cells बाट टुक्रेर हट्न निकै गार्हो हुने हुनाले समयमै व्यायाम र खानपिनको सन्तुलन मिलाउन पर्ने हुन्छ । मोटोपन घटाउनको लागि व्यक्...

टाइफाइड ज्वरो भन्दा Widal test को आतंक बढी।

टाइफाइड ज्वरो भन्दा Widal test को आतंक बढी। समाजको वास्तविक जरो भनेको चेतना रहेछ । चेतनाको जरो बलियो भयो भने शिक्षाको हाँगाविँगा जति बलियो भएपनि व्यवहारमा परिवर्तन नहुने रहेछ ।   मनुष्यको चेतनाशक्तिले कुनै पनि विषयलाई कसरी बुझ्ने गर्छ भन्ने कुरो निकै महत्वपूर्ण हुने रहेछ । गरिब मुलुकमा सरुवा रोगको निकै चाप थियो र छ पनि। सरसफाइमा कमी , शुद्ध पानीको अभाव ,  संक्रमित खानेपानी सबै सरुवा रोगको निम्ति कारक तत्व हुन् । तर कुनै रोग भने जति शुद्ध पानी खाने गरेपनि ज्वरो आउँदा टाइफाइड नै कहलिन्छ !! टाइफाइड भन्ने रोगको जरो  हाम्रो समाजमा निकै गहिरो र बलियो छ । धेरैलाई टाइफाइडबाट निकै डर लाग्ने गर्छ । डर नलागोस् पनि किन ? कतिका ज्यान गएको कुरो गाउँघरमा सुनेकै हो । धेरै सुनिने कुरामा टाइफाइडले त आन्द्रा नै प्वाल पार्ने गर्छ । टाउफाइडले त मस्तिष्क हानेर बहुलाहा गराउँछ । टाइफाइड निख्रेन भने हरेक महिना ज्वरो आउँछ । टाइफाइडले ज्यान सजिलै जान्छ । अझ सजिलो गरि भन्नुपर्दा गाउँघरमा ज्वरो भनेकै टाइफाइड हो । टाइफाइड भनेको "कुखत" हो । यस्तै यस्तै कुराहरु सुनिने गर्छ गाउँघर सहरबजारमा । ट...

सबैका प्रिय डाक्टर ।

शीर्षक : सबैका प्रिय डाक्टर । डा शम्भु खनाल फिजिसियन कथा आजभन्दा दश वर्ष पुरानो हो । तर यो कथा अझैपनि बेलाबखत देख्न पाइन्छ । भोग्न पाइन्छ । त्यो बेलाको सलामी पानीको कथा आज Whole body check up को आग्रहमा  मा देख्न पाइन्छ हरेक दिन । दश वर्ष अगाडिको म : मनको अशान्ति अनुहारका कुनाकाप्चामा देखिने गरी मलिनता छाएको छ ।  बेखुसी ब्याप्त देखिन्छ ।  हिडाइमा सुस्तपन  छ । अनुहार मात्रै  देखाउन हो कि भन्ने गरी टाउको र दुबै कुमलाई पछ्याउराले सजाएर कुर्सिमा बस्छिन् एक अन्दाजी ३० बर्षिय  महिला ।  पटुकाले  पूरै  पेट बेरेको छ ।  श्वास नै फेर्न गार्हो भए जस्तो गरी लामो सुस्केरा पनि सुनिन्छ ।  त्यही सुस्केरामा उनको सलामी पानीको (सलाइन ) आशा लुकेको छ । " डाक्टर बाबु ।  हाड्ज्वरो आम्च ।  गरम हुन्छ ।  केही गरी सितल गर्नुपर्‍यो "  उनी आफ्नो ब्यथा पोख्छिन् ।   " पोहोर साल यहि बेला सलामी चडाएर  सितल भाको । शरीरबाट पानी सकिएछ ।  सलामी  चडाउनुपर्छ भन्थे डाक्टरले ।  "  यस्तो कथा सुन्ने बानी परेको त पत्तै भ...

बाटो बिराएका रोगहरु ।

बाटो बिराएका रोग र ल्याब टेस्टहरु । पृष्ठभूमि : चिकित्सा पेशामा नजिकबाट अनुभव सङाल्न लागेको धेरै वर्ष बितिसक्यो । स्वास्थ्य सम्बन्धी जानकारीमा पनि धेरै परिवर्तन भएको छ ।  एउटा जमाना रेडियोको थियो । जसमा बि बि सि समाचार सुन्न राती पौने ९ बजे कुर्न पर्थ्यो । त्यो धुन सुन्न निकै मन पर्थ्यो । अचेल हात हातमा मोबाइल छन् । कुनै पनि समयमा मन लागेको समाग्री सुन्न र हेर्न पाइन्छ । सायद सजिलै प्राप्त हुने ज्ञान खँदिलो हुन्न रहेछ कि । सूचना सम्प्रेषण द्रुत गतिमा हुनु आफैमा एउटा विकासको खुड्किलो मान्न सकिन्छ । हरेक विकाससँग केही विकार पनि साथमा हुनु स्वभाविक हुन्छ। सुचना सामाग्री कतिपय प्रचार प्रसारका लागि हुन्छन् , कति केवल भियुज बढाउनको लागि हुन्छन् । थोरैमात्र ज्ञान सम्प्रेषणका उद्देश्यले हुने गर्दछन्। अचेल स्वास्थ्य सम्बन्धी सामाग्री सामाजिक संजालमा मनग्गै भेटिने गर्छ । स्वास्थ्य सम्बन्धी सामान्य जानकारी निकै नै सरल भाषामा सूचना प्रवाह गर्नु उचित हुन्छ । उदाहरणका लागि खुट्टा सुन्निने, बिहान उठ्दा आँखा वरपर सुन्निने भएमा किड्नीको समस्या हुन सक्छ भनेको सुनेर चेकजाँच गर्न अस्पताल जानु मुन...