मणिग्राम चोकमा दुई संसार ।
छिटो र ढिला उठ्नु पनि सापेक्ष कुरा हो । हस्पिटल जान नपरेको दिन ९ बजे पनि छिटो हुन्छ । ल्होसारको विदाको दिन मस्त सुत्ने मौका मिल्यो । त्यो दिन घाम पनि राम्रो लाग्यो । मन पनि रमाइलो, दिन पनि घमाइलो । तर आजको दिन घमाइलो हुने संकेत देख्दिन । बिहान ढिला उठ्छु । घडीले ८ बजाउनै आँटेको रहेछ । पर्दा उघारेर हेर्दा बाहिर त हुस्सु नै हुस्सु हुन्छ। फेरि सुतिरहन मन लाग्छ । तर मलाई सुत्ने सुविधा थिएन । त्यो बेला घरको कोठाभित्रै बसेर काम गरेर जागिर खान मिल्ने साथीहरूको खुब ईर्ष्या लाग्छ । जसोतसो उठेर नित्यकर्म गर्छु । खान पकाउन पनि ढिला भएको थियो । मनमा भने दुविधा भयो - सार्वजनिक बस चढ्ने कि बाइकमा अस्पताल जाने । त्यो हुस्सु देखेर त बसमै जान मन लाग्यो । तर खाना खाएर निस्किदा घडिले ९ बजाइसकेकोले बसमा जान ठिक लागेन । १० बजे त ठ्याक्क पुग्नुपर्यो । समयलाई सम्मान गर्न सकिएन भने समयले आफ्नो सम्मान गर्दैन भन्ने कुरामा मेरो विस्वास छ । त्यसैले बाइक स्टार्ट गरेँ । हातमा पन्जा लगाएँ । ज्याकेट लगाएँ । टोपी लगाएँ । हेल्मेटको सिसामा रहेको शीत पुछेँ । मनमा लाग्दै थियो म कुनै युद्धका लागि तया...