देवघाट ,पेरिस, प्रिय साथी र म ।
देवघाट ,पेरिस, प्रिय साथी र म ।
आकाश त शून्य हुन्छ भनिन्छ । कुनै सिमा पनि हुँदैन आकाशको । वायुमण्डलका पत्रहरु भने हुन्छ भन्छन् वैज्ञानिक । पराबैजनी किरणबाट सुरक्षा दिने पनि पत्र हुन्छ । ओजोनको पत्र । औधोगिक क्रान्तिसँग नष्ट हुँदै गएको त्यो अभागी पत्र हो । धर्ती त्यसको पीडित पात्र । र मनुष्यजाति त्यसको एक मात्र दोषी पात्र।
दसैंको टिकाको दिन देवघाटको लागि प्रस्थान गरेको थिएँ । चितवन पुग्न ५ घण्टा लाग्यो । यस्तो लाग्यो बसमा केवल ब्रेक मात्रै छ । यसलेरेटर छैन । हाम्रो देशको विकासको गाडीजस्तो । पूरै निरस यात्रा । त्यहाँ पुग्दा बेस्मरी पानी परिरहेको थियो । मुसल्धारे पानी । पानीले सबैलाई पिटिरहेको थियो । भर्खर पिच गरिएको बाटोलाई । त्यही बाटोमा हिँडिरहेका कार ,अटो रिक्सा आदिलाई । मसँग त्यो शक्ति सहने क्षमता थिएन । त्यसैले म ओत् लागेँ एउटा औषधी पसलको छनोमुनि । त्यसैगरी धेरै जना निरिह थिएँ । म मात्र एक्लै नभएकोमा खुशी पनि लाग्यो । मनुष्य स्वभाव । दु:खमा पर्दा अरु पनि दुखी देख्दा आफ्नो मनले आड पाउने । नभए त सुखमा कहाँ अरुलाई खोजिन्छ र !
लाग्दै थियो आकाश शून्य थिएन त्यो दिन । पूरा उर्जाका साथ बादल जम्मा भएका थिए । निरन्तर पानी परिरहेको थियो । मानौँ आकाशले सम्पूर्ण क्रोध जम्मा गरेर प्रदर्शन गरिरहेको थियो । आकाशमा कुनै देवताको युद्ध हुँदै थियो कि ! शायद पाठ सिकाउन खोज्दै थियो होला हामी मनुष्यलाई । प्रकृतिको मर्म नबुझी गरिएका विकास कार्यको असर सम्झाउन खोजेको हुन सक्थ्यो । अतिवृष्टि ,अल्पवृष्टि ,अनावृष्टि मनुश्यले गरेको विकासको दानव स्वरुप हुन् । मोलमलाई कमिसनमा बनाइएको नयाँ पिच बाटो मक्काएर मनुश्यको भ्रष्ट रुप देखाउन खोज्दै थियो कि ! पानी नभए त संसार सम्भव छैन । तैपनी उल्टै मनग्गै गाली गर्दै थिए सबैजनाले पानीलाई । रिसाउँदै थिए बादलप्रति । के गर्नु ! गुन छिटो बिर्सिने बैगुनी जात हो नि त हामी । मैले नि एक दुई पटक गुन बिर्सेंछु ।
नकारात्मक वाणीबाट त पानी रोकिने छाँट किंचित थिएन । सबैजनाले आ-आफ्ना प्रयास गर्दै थिए । अटो रिक्सा रोक्ने प्रयास । ट्याक्सिलाई रोक्ने प्रयास । म भने एक टकले पानी हेरिरहेको थिएँ । आकाशबाट झरेको थोपा थोपा पानी मिलेर धारोजस्तै बनेर ठोक्किने भुइँमा । ठोक्किएर फेरी पानीका थोपा छुट्टीने । अनि भुइँमा फिँजारिने । त्यसपछि जता ओरालो त्यतै लाग्ने । नाली खोज्ने अनि पानीको भेल बनेर यो दृश्य बिलिन हुने । मानिसको जीवन पनि यस्तै त हो । कुनै समयमा छुट्टीनै पर्छ आफ्ना प्रियजन सँग । उमेरसँगै ओरालो लागेर एक दिन बिलिन नै हुने हो धर्तिबाट ढिलोचाँडो। पानी भुइँमा सयर गर्दै थियो । म आफ्नो बिचारको संसारमा ।
मेरो मनप्रिय साथी पनि आउँछिन् मलाई एक्लै देखेर । कस्तो सन्जोग । मिठो मुस्कानका साथ । उही आभामण्डल,उही अनुभव, उही रेजोनेन्स । बाहिर पानी बर्षिरहेको थियो । मेरो मनको कुनाबाट खुशीको बर्षा हुँदै थियो । आकाशतिर हेर्दै मुस्कुराएँ म । मेरो मुस्कान देखेर अझै पानी दर्किएजस्तो लाग्यो । उनी पनि मुस्कुराउँछिन् । दुबैजना नजिक हुन्छौँ । आकाश कड्किन्छ । उनी हल्का डराउँछिन् । मेरो हात कसेर समात्छिन् । केमिस्ट्री र रेजोनेन्स दुबै “पर्फेक्ट “ देखिन्छ । म पुन: पानी हेर्छु भुंइमा । पेरिसमा पर्ने पानी र यो एउटै त होला नि । H2O मोलिक्युल । हाइड्रोजन र अक्सिजनको मिलन । कस्तो अद्भुत रेजोनेन्स । सधैं शास्वत रहने । पेरिसमा पनि ,पुल्चोकमा पनि एउटै अस्तित्व । मनुश्य मनले जोखेर र तौलेर निर्णय गर्ने भएर होला मनको रेजोनेन्समा व्यवहारिक घर्षण हुने । कहिलेकसो रेजोनेन्समा म्युटेसन पनि हुने गर्छ । म्युटेसनले अहम् पैदा हुन्छ ।
फोनको रिङ्ग टोन बज्छ । झसंग हुन्छु म । मामाको फोन रहेछ । पानीले कति दु:ख दिएको छ भनेर बुझ्न् गर्नुभएको थियो । पानी रोकिने कुनै संकेत थिएन । म फेरी ध्यानमग्न हुन्छु प्रकृतिको लीलामा । पानीको थोपा ठक्कर खाँदा उछिटिएका सुक्ष्म थोपाहरुले स्वश्ति शान्ति गर्दै थिए मलाई । त्यही पानीको थोपाको भित्र पेरिसको चित्र देख्छु । सजिब चित्र । पानीको थोपाभित्र दुईटा मानव आकारको प्रतिबिम्ब देख्छु । त्यसमै म बिलिन हुन्छु । उनी उभिएकी छन् । म उभिएको छु । बेलुकाको समय छ । शहर चम्किरहेको छ । सिमसिम पानी परिरहेको छ । दुबैजनालाई पानीले रुझाएको छ । तर आकाश गर्जिएको भने छैन । शान्त छ ।
मैले उनको हात समाउँछु । उमंगका साथ भन्छु ” लाइटले चम्किएको टावर हेर न । “ ३१४ मिटर अग्लो अाइफल टावरको द्रिश्यावलोकनले उमंगित छ हाम्रो मन । एक पटक फेरी एक अर्कालाई हेर्छौँ । निकै आत्मीयताका साथ एक अर्कालाई अंगालो मार्छौँ । उनको निधारमा चुम्बन गर्छु म । लाग्दै थियो त्यो पानीको थोपा र हामी एउटै हौँ । अहम् बिनाको रेजोनेन्स । मन चङ्गा त जगत मधुवन । टावरले रमाइलो मान्दै हेरिरहेको थियो हामीलाई । पानीको मोलिक्युलजस्तो बोन्डिङ । टुक्रिए दुबैको फरक अस्तित्व । साथमा एउटै अस्तित्व .......। समय बितेको थाहा हुँदैन । यस्तैमा ध्यान भंग हुन्छ । पानीको थोपा पनि टुक्रिन्छ । पेरिसबाट पुन: पुल्चोकको यात्रा पलभरमा । अटोको तीखो कर्कश हर्न खलनायक हुन्छ त्यो समयमा । पिटुँ पिटुँ लाग्ने ।
पानी कम भएछ । सबैजना आ आफ्नो गन्तब्य लाग्दै गर्दा हेक्का भयो । म पनि अटो रिक्सा खोज्न लाग्छु । तर कुनै जान मान्दैनन् जङलको बाटो । देवघाट जान ४ कि मि जङलको सुनसान बाटो जानुपर्छ । । एउटा अटोमा पोखरा बस पार्क सम्म भए पनि पुगेँ । एउटी बुढी आमा पनि त्यसमै बसिरहेकी थिन् । राम नामले सजिएको पछ्यौरा ओडेकी ,एउटा टाल्टुल गरिएको झोला बोकेकी ,एउटा सुरिलो लौरो टेकेकी ,चन्दन निधारमा लगाएकी र ढाड कुप्री परेकी ति आमा अशान्त देखिन्थिन् । देवघाट जाने पीरले पिरोलेको रहेछ । देबघाट जाने साथी खोज्दै रहिछिन् । ८ बजिसकेकोले बस त पाइने थिएन । मलाई ति आमालाई देब घाट पुर्याउन मन लाग्यो । देबघाट जाने हो ? कति हो भाडा भनेर सोधेँ । “ रातिको समय छ । तीन सिट हो । तीन जनाको दिनु न १०० का दरले । “ आमाले खिन्न हुँदै भन्दै थिन् “ म २० मा चढ्ने गरेको। पैसा नपुग्ला मसँग । “ “ आमा । तपाईं चिन्ता नलिनु । निश्चिन्त बस्नुस् ” भनेर भनेँ ।
बसिसकेपछि अटो चालकले पछाडि फर्केर भन्छन् ” आमै । उहाँले ३०० दिनुहुन्छ । तपाईं १५० दिनुस् । “ मलाई भने अलि रिस उठ्यो । आफ्नो बोली फेरेकोमा । अटो रोक्न लगाएँ । “ तपाईं आफ्नो बाटो लाग्नु भए हुन्छ । मनमा हरिले बास गरेपछि आउनुहोला ।“ भनेर ओर्लिएँ । अर्को सुरो अटो ड्रैभरको खोजी कार्य जारी रह्यो । कसैले पनि मानेनन् त्यो जङलको बाटो जान । फर्किँदा डर हुन्छ भन्ने सबैजना । मान्छेको मनमा डरले खेती सानैदेखी गरेको हुन्छ ,हाउगुजी भूत प्रेत आदी काल्पनिक स्वरुपले । बल्लतल्ल एउटा स्कर्पियो रोक्न सफल भएँ ।
स्कर्पियोले हामीलाई देवघाट पुर्याउन राजी भयो । सकुशल देवघाट पुल वारी पुगियो । बिस्तारै हिँड्न थाल्यौँ हामी । म जति बिस्तारै हिँडे पनि आमाले मलाई भेटाउन सक्नुहुन्थेन । म आफ्नो पाइला अझै सुस्त गर्थेँ । तर बेलाबेला हाम्रो दूरी फरक परि हाल्थ्यो । । वास्तबमा भन्नुपर्दा म आफ्नो भबिष्यलाई नजिकबाट अनुभव गर्दै थिएँ । समयले सौभाग्य प्रदान गरेछ भने शरीरका अवयव कमजोर हुनेछन् । मेरा पाइला पनि उस्तै सुस्त हुनेछन् । ढिला हुनेछन् । बाटोले गिज्याउनेछ । छोरानातिले यस्तै गरी आफ्ना कदम मिलाउने प्रयास गर्लान् । छुट्टीने समयमा ” बाबु । भग्मानले सधैं रक्षा गरुन् । खुशी रहनु । “ भन्दै आशिष दिँदा दिन सार्थक भएको अनुभव भयो ।
घर पुगेर टीका लगाउने काम सकियो । सबैजनाको भेलाले माहोल रमाइलो भएको थियो । धेरै समयपछि त्यस्तो साइत जुरेको थियो । सुत्ने ब्यबस्था मिलाएर म सुतिहालेँ । थकानले निद्रा मिठो आउँछ । म पुन: पेरिसको सयर गर्न थालेँ । रुमानी यात्राको निरन्तरता । पेरिसमा मनप्रिय साथीसँग टहल्दै थिएँ । अाइफल टावर नजिक कफी खान बस्यौँ । कफी आत्मियता बढाउने प्रिय साथी थियो । दुईजना एक साथ नजिकिएर बस्दा त्यो वातावरण निकै सुमधुर हुँदै थियो । मिठो हावाले उनको केश सुम्सुम्याईरहेको थियो । मन लोभ्याउने उनको ” डिम्पल ” ले मुस्कानमा सुगन्ध थपेको प्रतित हुन्थ्यो । कफीबाट वाफ उड्दै हावामा बिलिन हुँदै थियो । सधैं न्यानो सम्बन्ध रहिरहोस् भन्न खोजेको हुनुपर्छ ।
अाइन्सटाइनको सापेक्षतावाद सिद्धान्त अस्तित्वमा थियो । प्रिय साथीसँग समय बितेको पत्तो नपाइने । मनको शान्ति र अनुहारको कान्ती भंग हुन्छ अचानक । हजुरबुवाको आवाज सुनिन्छ । उहाँलाई हामी दुई जना सँगै बसेको कत्ति चित्त बुझेनछ कि । ब्रहमिनको ब्रह्मिन मिजास । कफीसमय पनि पूरा हुन पाएन । त्यो आवाज बिस्तारै टाठो हुँदै जान्छ । अनि म झसंग हुन्छु । बिहानै मन्त्र पढ्ने बानी उहाँको । आँखा खुल्छन् मेरा । फेरि म पेरिसबाट बिस्ताराको यात्रा एकै पलमा पुग्छु । स्वर्गबाट पछारिएको महसुस हुन्छ । त्यसैले आँखा चिम्लिएर फेरि पेरिस पुग्ने प्रयास गर्छु । धित् मरेको थिएन स्वप्निल अनुभवको ............ ।
उही
रुमानी पेरिस यात्रा/ कल्पनाको पात्र
Mann ma hari navayesi kasko k lagxa...
ReplyDeleteOnly good hearted people help other...specially Old people.
ReplyDelete