चिडियाको सकसको अन्त्य
चिडियाको सकसको अन्त्य
आज सबै सकसको अन्त्य भयो । सबै पीडाको अन्त्य भयो । आफ्नै मनले सम्म धोका दिएको संसारमा सबै दु:ख र पीडाको इती श्री भयो । चिडियाको अमर तर अकथित आत्मा चिडियाजस्तै उडेर शायद स्थानान्तरण गरेको हुनुपर्छ । चिडियाको पार्थिब शरीरबाट दिक्क भएर । उर्जाबिहिन मन र तङ्रिन नखोजेको शरीरको अवस्थामा आत्मा एक्लो परेछ शायद । त्यसैले प्राणवायु खिचेर तानेर आँफैसँग लग्यो । र छुट्कारा पायो १२७ औँ दिनमा । निकै सकसका साथ छुट्कारा पायो तेस्रो पटकको अप्रेसनपस्चात । चिडियाको हारेको मन र कुपोषित शरीरले चिकित्साशास्त्रका सबै प्रयासहरु बिफल हुन पुगे । ओझेलको पात्र चिडियाको एउटा सकसको कथा कसैलाई थाहा नहुने गरी अन्त्य भयो । यस्ता त समाजमा हजारौ पात्र होलान् ।
सम्झना छ अझै मलाई । ४ महिना अगाडि एमर्जेन्सि ड्युटिमा ” एउटा बेड छ । कसलाई लिएर जाम ।” भनेर भन्दै थिएँ । त्यो सुनेर सिस्टरले सपाट उत्तर दिनुभएको थियो “ चिडियालाई लिएर जानुस् । “ एमर्जेन्सिमा आफ्नै होस् गुम्नेजस्तो भिड हुन्छ । एउटा कुनाको बेडमा टुसुक्क बेडमा बसेकी एउटी अन्दाजी ३० बर्षकी महिला । पूरानो मैलो पहिरन, जिर्ण शरीर ,मलिन चेहरा ,गलेको स्वर ,थकित मन मात्रै चिडियाका बर्णन गर्न सकिने बिशेषण शब्द होलान् । फुल्लेको अनुहारमा कान्ती पूरै उडेको र आशाको त्यान्द्रो मुस्किलले भेटिने त्यो चेहरामा समाजको एउटा पुरै कथा दबिएको महसुस हुन्थ्यो । साथमा हेरचाह गर्ने चिडियाको श्रीमान भने मायालु देखिन्थे । त्यतिखेर पनि आँखा टल्पल थियो उनको र आज पनि उस्तै ।
पाँचौ दिनमा बल्ल भाग्यले मिचिएको पालो आएको थियो चिडियाको । उनको भन्दिने मान्छे कोही थिएन नि त ! नफुटेको निरिह स्वर सुनिन पाँच दिन लागेछ । न त उनी बोल्न सकिन् । न त उनका श्रीमान नै । कोट्सोट लगाएका भए कसैको दृष्टिमा पर्थे कि ! उनलाई त त्यही यमर्जेन्सी नै भर्ना गर्ने ठाउँ लागेको रहेछ । ठुलो अस्पतालको भिड मानेका रहेछन् । एउटै बेडमा दुई तीनजना । सामाजिक सकस बोकेको सिंगो कथा लुकेको चिडियाजस्तैको लागि सबैले काम गर्नुपर्ने हैन र । म त केवल भर्ना मात्रै गर्न सक्थेँ । बाँकी बेड संख्याआदिको आयतन बिकास गर्नलाई मेरो हस्तक्षर निरिह थियो । आज पनि असमर्थ छ । पावर भएका हास्ताक्षर कुट्निति र राजनीतिमै सकृय छन् शायद । झिनामसिना मानिने हाम्रा ब्यथा कसले चासो दिने र !
उपचार त उनको चलेकै थियो । रोग न हो । कुनैले कलेजो समात्छ । कुनैले मस्तिस्क त कुनैले किड्नी आदि । चिडियाको भने किड्नी समातेछ । प्रोटिन नअडिने रोग लागेछ । पिसाबमा प्रोटिन चुहिने रोग । औषधी उपचार नगरेको पनि हैन । औषधी खाँदा पनि बिसेक नभएकोले मन थाकेछ शायद । डाक्टरलाई त पिसाबको प्रोटिन जोखेर कम भएपछि ठीक हुँदै गरेको भन्ने लागेको हो । चिडियाले त्यो के बुझ्नु र। उनले त फुल्लेको शरीर र फुल्लेको मुख मात्रै बुझ्ने त हो । त्यसैले होला आफ्नो सुधार नहुने र खर्चिलो उपचार देखेर इहलीला समाप्त गर्ने प्रयास गरेकी । एसिडलाई पिउने आँट गरेर आफूलाई समाप्त गर्ने बिफल प्रयास गर्न पुगिन् । आर्थिक बिपन्नताले निम्त्याएको मनको सकस चिडियाको शारिरिक सकसमा उत्रिन पुगेको थियो । आन्द्राको नली साँघुरो हुन पुगेछ । खाएको नअडिने र बान्ता हुने भएर आएकी चिडिया सधैं मलिन र निन्याउरो देखिइन् । उपचार त बेसी समाजको अज्ञानता अशिक्षा र बिपन्नताको हुनु जरुरी देखिन्छ । जुन अज्ञानताले चिडिया हेयकी पात्र हुन पुगिन् । जुन अशिक्षाले आत्मनिर्भर हुन सकिनन् । जुन बिपन्नताले मन कुँडिन पुग्यो । पूरानो भइसकेको नयाँ नेपालमा अाउँदो भबिश्यमा चिडियाका जस्ता मलिन अनुहारहरु उज्याला अनुहारले स्थान लियोस् । कामना बाहेक के गर्न सकिएला र !
पहिलो अप्रेसन नै कठिन । दोश्रो अप्रेसन उस्तै कठिन हुँदै गयो । थाकेको मनलाई चिकित्सकिय उपचारले उर्जा दिन सकेन। मरेको आशामा बाँच्ने प्रेरणा जगाउन सकिएन । जिर्ण शरीरले लड्न सकेन रोगसँग । उर्जाबिहिन मनले शरीर जिर्ण बनाउँदै लग्यो । बिस्तारै आशा मर्दै गयो । र इहलीला समाप्त भयो । यो सबै नमिठो श्रिँखलाको बिउ धेरै पहिले समाजमा रोपिएको हो । अशिक्षा अज्ञानता र बिपन्नताको बिउ । रोग कुनै अंगको मात्रै लाग्दैन रहेछ । सँगसङै मनमा पनि लाग्ने रहेछ । मनमा उर्जा नभरी औषधीले मात्र काम गर्दैन । रोग परास्त पनि हुँदैन । समाजको पीडा र सकसको उपचार देशको उपचार पद्धतीको सहजता र सर्वसुलभतामा बढी निर्भर गर्छ । सथसाथै उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल र जाङरमा पनि । चिकित्सकलाई कुनाकाप्चामा धकलेर मात्रै स्वास्थ्य गुणस्तर सुनिस्चित हुँदैन भन्ने चेतना समयमै भए असन्तुष्टिको बिउ भबिश्यमा उम्रिएर झाङिने थिएन । आफूलाई त सधैं कुनै न कुनै रुपको चिडिया हेर्ने नियती नै छ ।
( ओझेलको पात्रहरुको एउटा प्रतिनिधिपात्र )
Comments
Post a Comment