Fever and misconception
मौसमी ज्वरो ।
राता राता रसिला आँखा र नाकबाट पातलो सिङान रसाउदै प्रबेश हुन्छ ओपिडिमा एक ७ बर्षिय बालिकाको । उसका साथमा छन् बाबुआमा ,दिदी र भाइ । सबैका उस्तै समस्या । कोही खोक्दै त कोही नाक सुरुक्क तान्दै पुछ्दै । सबैजना खोकिरहेको आछ्यू गरेको देखेर स्वास्प्रस्वासबाट सर्ने रोगका असंख्य किटानु जिबाणुको कोठाभरि ब्रिष्टी सम्झिदा आँफैलाई त कतै समाउने हैन भन्ने पीर लाग्छ सधैं । त्यो जोखिम र पीर देख्ने को नै होला र ! ति सबैलाई ज्वोरोले समाएको एक हप्ता भएको रहेछ । उपचार पनि एक हप्ताको नै । औषधी भने ट्याब्लेट देखी सबैको प्रचलित "सुइ" प्रयोग गरिसकिएको रहेछ । के को सुइ सँग मतलब राख्दैनन् बिरामी । लेखिएका पर्चा ल्याउने बानी नैँै छैन । औषधीको पुर्जा सजिलै बिर्सिन्छन् । त्यसमाथि सामान्य मेडिकलबाट औषधीउपचारको प्रमाण लेखेर दिएको थाहा पाएको छैन मैले । अनुमान भने लगाउन सकिन्छ अचेल । उहि सर्बब्यापक यन्टिबायटिक ट्याबलेटमा " सेफिक्जिम " र सुइमा "सेफ्ट्रायक्जोन" । मसँग भने संस्थामा उपचारलाई निशुल्कको नाममा सिटामोलको अन्तिम पातो । दुई चार दिनदेखि सिटामोल सकिने पुर्बानुमानले चिन्तित म । यो मौसममा सिटामोलको तुलनात्मक रुपमा खपत बढी भएछ । अन्तिम पातो सिटामोलसंगै बिरामीको सत्तोसराप बढ्ने निश्चित छ । हालको नयाँ सम्रचनामा औषधी स्थानिय तहबाट ततकालै के के जाती प्रकृया पूरा भएर प्राप्त हुने छाट्काट देखिएको छैन । त्यो प्रकृया सकेर पुष महिनापछि पाएर के गर्नु ।
ज्वरो नघट्दा बिरामी चिन्तित । उपचार गर्ने स्वास्थ्यकर्मी र डाक्टर अझै बढि चिन्तित । बच्चाको हकमा भने निकै चिन्तित हुन्छन् अभिभाबक । जुन कुरा स्वाभाबिक पनि हो । त्यसैले सुरुमै उनिहरुको माग हुन्छ " डाक्साप ! सुइ लगाइदिनु न । " बिरामीको लागि ज्वरो घटाउने सुइ हो । चिकित्सकको धर्मले दुई तीन दिनको अधिकाम्श मौसमी ज्वोरो रुघाखोकीमा सुइ प्रयोग गर्नु उपचारको प्रणालिमा फिटिक्कै नमिल्ने । के गर्नु । अचेल सुरुमै कडा मानिने यान्टिबियटिकको प्रयोग सामान्य भइसकेको छ । अहिले ज्वोरोको प्रकोप नै छ देशभरि । र औषधीमा " सेफिक्जिम " र यजिथ्रोमाइसिन " आदि नामका यन्टिबायटिकको बढ्दो प्रयोग छ । औषधि कम्पनी त मलामाल नै होलान् । तर यन्टिबायटिकको प्रयोग सही भए नभएको एकीन खै कसले गर्ने हो ! कुन चाँहि किटानुहरु मार्न खोजेको हो धेरैलाई थाहा छैन। अन्धाधुन्ध प्रयोग देखिन्छ यन्टिबायटिकको । सबैको रामबाण भनेको "ट्याबमा सेफिक्जिम र इन्जेक्सनमा सेफ्ट्राय्क्जन । " अलिकत स्पेसल बन्न खोज्नेले "ट्याब सेफपोडोक्जिम र ट्याब लेभोफ्लोक्सासिन " प्रयोग गरेजस्तो देखिन्छ । केही थाहा नपाए सबैलाई यहि औषधीको साहारा । दोष कसलाई पो दिने ? स्वास्थ्यकर्मीलाई दोष दिने हो भने उनिहरुसँग बिकल्प केही छैन। राम्रोसँग कतैबाट निर्देशन दिएको भए पो मान्नु । त्यही पनि निर्देशनको कसलाई मतलब छ र ! मेडिकललाई दोष दिने हो भने ब्यापारी नियतले चलेकोलाई कसरी पूरै नराम्रो पो भन्नु ! कमाउन बसेकोलाई त मौसमी ज्वरो दसैं आए सरह हो । तथापि अन्धाधुन्ध यन्टिबायटिकको प्रयोग भने नियन्त्रण कहाँबाट गर्नुपर्ने हो । त्यो निकायले अलि जाङर देखाउदा राम्रो हुने थियो । नभए त नेपालको गाउँ गाउँमा शहर सहरमा कडा यन्टिबायटिकको प्रयोग गरेर बम पड्काउने चलन ब्याप्त रहने भयो । आजलाई त ठीकै देखिएला । तर भबिश्यमा कुनै यन्टिबायटिकले काम नगर्ला भन्ने डर हो । पछिको लागि भर्सेला परोस् भने त के लाग्यो र। तर पनि कुनै जाँच र विवेक विना सबैलाई एउटै औषधी प्रयोग गरिनु कदापी उचित मान्न मिल्दैन र यो दुरुत्साहित नै हुनुपर्छ।
भ्रम सजिलै फैलिन्छ हावासरी । ज्वोरो आउँदा आत्तिनुलाई स्वाभाबिक मान्नुपर्छ । उच्च ज्वोरो आउँदा बिरामी आत्तिएर मेडिकलबाट औषधि लिन्छन् । बाध्यता पनि हो । औषधी दिनेले पनि केही औषधी बिक्ने प्रलोभनले त केही यन्टिबायटिक प्रयोग नगरि ज्वोरो कम हुन्न भन्ने भ्रमले । जस्तो यन्टिबायटिकको प्रयोग गरे पनि अहिले न्वारन गरिएको मौसमी ज्वोरो भाईरसले नै रहेछ भने त कत्ती काम गर्दैन । मनको सन्तोष मात्र न हो । ब्याक्तेरिया नै रहेछ भने पनि कुन यन्टिबायटिकले काम गर्ने हो अत्तोपत्तो छैन । यही मौसमी ज्वरोमा पत्ता लगाइएको "स्क्रब टाइफसमा " सबैले जतापनि चलाइरहेका रामबाणले पनि काम गर्दैन । यसलाई त " ट्याब डक्सिसाइक्लिन " राम्रो मानिन्छ । जुन औषधीको प्रयोग त्यती गरिँदैन । कुराको तात्पर्य के भन्दा हामी औषधीको प्रयोगमा दिशाबिहिन छौँ भन्ने हो । आफ्नो मनमा लागेको ,आफ्नो अनुभवले र पहिलेका सिनियर डाक्टरको अनुभबमा हाम्रो चिकित्साबिज्ञान अडिएको देखिन्छ । न कि अनुसन्धानबाट प्रमाणित बिज्ञानमा ।
मानानीय स्वास्थ्यमन्त्रिज्युलाई त वीर अस्पातलमा टाइफाइड भनेर उपचार गरेर पछि स्वाइन्फ्लुको कारण पत्ता लाग्यो भने देशका दुर्गम भागमा रहेका ज्वोरोले प्रताडित धेरै बिरामीले टाइफाइडको उपचारका रुपमा " ट्याब सेफिक्जिम " र " ट्याब यजिथ्रोमाइसिन " पाउनुलाई अन्यथा मान्न सकिने स्थिती पनि रहेन । देश गरीब भएर हो कि स्वास्थ्य प्रणालि कमजोर भएर हो अनुसन्धानका अाधारमा औषधी चलाऊने बानी बिकास भएको पाइन्न । धेरै यन्टिबायटिक सुनेका भरमा र कम्पनिको प्रचारका अाधारमा चलाऊने गरेको पाइन्छ । अहिले ज्वोरो आएको बिरामीमा सुइ नलागाउने हो भने नजानेको डाक्टर भन्छन् । अनी उतै मेडिकलतिर लम्किन्छन् बिरामी । यो सुइ प्रतिको मोह गहिरो छ बिशेषगरी गाउँ गाउँमा । जे होस् सलामी पानी र सुइ अचुक औषधी हुन् ख्याती कमाउनलाई ग्रामीण भेगमा ।
भाईरसले नै ज्वोरो आएको रहेछ भने पनि त्यसको रगतको नमूना लिएर हुन्छ कि कसरी हुन्छ निर्क्यौल गरी बिशेष उपचारको लागि सरकारले देखिने गरी पहल गर्नुपर्ने हो । मौसमी ज्वोरो भनेर नामकरण गरेर मात्रै पुग्ला र ? नभए त त्यस्ता धेरै किसिमका किटानु मार्ने यन्टिबायटिकको (broad spectrum ) प्रयोग निरन्तर रहिरहन्छ । न बिरामीले जोखिम उठाउन चाहन्छ न त उपचारार्थ स्वास्थ्यकर्मीले । ढुक्क नभएसम्म त सबैले रामबाण चलाउने नै भए । त्यसैले अनुसन्धानका अाधारमा स्पस्ट नीति तथा निर्देशन हुनु अत्यन्तै जरुरी देखिन्छ । हालको अवस्थामा बिबेकपूर्ण तरिकाले औषधी प्रयोग गरौ भन्ने अभिलाषाका साथ अहिले भनिएको मौसमी ज्वोरो छिट्टै नियन्त्रण होअोस् भन्ने मेरो सदिक्षा ।
Comments
Post a Comment