Namaste doctor

नमस्ते डाक्साप !

नमस्ते  सिस्टाचारको बिधि पुर्याउने सहज  शब्द हो ।  यो शब्द सर्बब्यापी छ नेपालमा ।  आफूभन्दा माथिको पदलाई सम्मान स्वरुप नमस्ते भनेर वा गरेर अभिबादन गर्ने चलन  छ । नमस्ते नखाइकन र नगरिकन  कार्यालयको सुरुवात शायद हुँदैन ।  पदिय मर्यादाको अस्मिता जोगाउने हिसाबले नमस्ते गरिएको हो । नमस्ते हात मिलाउनु भन्दा बिज्ञानसम्मत भएको कुरा त swine flu को बिगबिगी हुँदा सबैले जानेकै कुरो हो । जे होस् नमस्तेको गरिमा उच्च छ भन्दा फरक नपर्ला ।  नमस्ते गर्ने मात्रै  नभएर नमस्ते फर्काउनुपर्ने पनि हुन्छ ।  सबै नमस्तेबाट सुरु भएका वार्तालापको अन्त्य प्रिय नै हुन्छन भन्ने छैन ।  कति "नमस्ते डाक्साप " भनाइमा हर्ष भन्दा तितोपना मिसिएको अनुभुती हुन्छ ।

कार्यालय  भित्रका कर्मचारीको नमस्ते आदनप्रदान पछि बिरामीको नमस्ते पनि मनग्गै  खान पाइन्छ  ।  सबै नमस्ते गरेर कुर्सिमा बसेका बिरामीले उपचार परामर्श पस्चात नमस्तेको ठाउँमा मनमनै गाली गर्दा हुन्    ।  नगरेर पनि के गरुन् ।  सन्चारमा सरकारी अस्पातल त सबै निसुल्क हुन्छ भनेर बारम्बार सुनेर आएका हुन्छन्। एक प्रकारले भन्दा केही कुरा निशुल्क हुने सम्प्रेषन भएपनि जनताले त " निशुल्क " मात्रै  सम्झिएको र सुनेको हुन्छ ।  शायद निशुल्क  भन्ने शब्द निकै लोकप्रिय ,कर्णप्रिय र सुमधुर सुनिँदो हो ।  त्यसैले त यो ब्यापक प्रयोग हुन्छ ।  भन्ने र सुन्नेले यो शब्दमा मात्रै जोड दिन्छ ।  तर सम्पूर्ण  सेवाहरु निशुल्क गर्ने क्षमता सरकारी अस्पातलहरुको छैन।  नाफामुखी पो नहुने हो ।  अहिलेको अवस्थामा सम्पूर्ण  निशुल्क हुन सक्दैन ।

बिरामी प्रकार १
पूराना पर्चा नल्याइ " नमस्ते डाक्साप ! म त फेरी आएँ ।  अली सन्चो लागेन ।  "  भन्दै धेरै आउँछन् ।  सरकारी OPD  पुर्जा दुई पाने हुन्छ ।  OPD  को पुर्जा निसुल्क गरेको धेरै बर्ष भयो ।  निशुल्क  हुनु त राम्रो हो ।  निशुल्कको उपचारमा आफ्नोपन नहुने हो कि विश्वाश नहुने भएर हो बिरामीले त्यो निशुल्क पुर्जामा लेखिएको परामर्श र उपचारको  कदर गर्न जान्दैनन् ।  त्यसैले त औषधी हातमा परेपछि त्यो पुर्जा महत्वहीन हुन्छ ।  कच्याककुचुक पारिन्छ ।  त्यो पुर्जा भारी हुन्छ ।  त्यसको स्याहार भने हुँदैन ।  पुन: बिरामी भएर आउँदा वा अर्को डाक्टरलाई   देखाउदा त्यसको कुनै प्रमाण भेटिन्न  ।  " डाक्साप ।  हरायो ।  बिर्सियो ।  हतारमा छुट्यो   "  भनेर सहजताका साथ सुन्नुपर्छ ।  जग्गाको लाल्पुर्जा नलगी मालपोतमा जान्छन र ? अनी शरीरको लालपुर्जा चाँही कती सजिलो गरी बिर्सिने !  ।  सायद निसुल्क भएर हो कि ।  थोरै शुल्क लागेमा सम्झिन्थे कि ।  हुन सक्छ आफ्नो मेडिकल रेकर्ड सुरक्षित   राख्नुपर्छ भन्ने
चेतना नभएको हो कि ।  जे भए पनि पूरानो  पर्चामा के लेखिएथ्यो  भन्ने त याद हुन गार्हो हुन्छ । उहि उपचार पर्‍यो भने " काम छैन त्यो डाक्टरको " भनिहाल्छन् ।

बिरामी प्रकार २
स्या स्या गर्दै दमका बिरामी निशुल्क औषधी पाइने आशाले अस्पातल अाइपुग्छन् ।  बर्षौको छिप्पिएको दमलाई सरकारले निशुल्क दिने "साल्बुटामोल" को ट्याब्लेटले कती दिनसम्म उपचार हुनसक्ला र ? साल्ब्युटामलले (दममा प्रयोग हुने श्वासनली खुलाइदिने ) केही बर्षपछि काम गर्न छोड्छ ।  अनी त " नमस्ते डाक्टर साप ! अचेल त छोएन दबाइले " भन्दै बारम्बार  आउँछन् ।  केही औषधी किनेर खानुपर्छ भनेर भन्दा बृद्धलाई त निशुल्क हैन र भनेर प्रतिबाद गर्छन्। मनमनै डाक्टरहरुले लुकाउँदा हुन भन्ने ठान्छन् होला ।  बुझाउन खोज्यो त संचारमाध्यमलाई  नपत्याएर कसरी पत्याउन्थे र अस्पातललाई ।  कताबाट महिनाको लगभग रु २००० लाग्ने दमको औषधी निशुल्कमा  ल्याएर चित्त बुझाउने हो !

बिरामी प्रकार ३
 बिरामी जाँचिसकेपछि थाइराइड जाँच गर्नुपर्छ भनेर भन्दा निशुल्क हो भनेर सोध्छन् ।  निशुल्क त छैन र यहाँ जिल्ला अस्पतालमा हुँदैन भन्दा " नमस्ते डाक्साप   ! त्यसो भए म बुटवल  गएर चेक गराउँछु ।  " भनेर बिदा हुन्छन्। सबै प्रकारका ल्याबमा गरिने परिक्षण निशुल्क गर्न अस्पतालले सक्दैन ।  त्यसैले त बिकास समितीको निर्णय  गरेर केही शुल्क तोकिएको हुन्छ ।  साधारण परिक्षण  बाहेकको बिशेष परिक्षण   (जस्तै FLP  ,TFT )हरु लक्षित बर्गलाई निशुल्क गर्न सक्ने कि नसक्ने भन्ने चुनौती छ ।

बिरामी प्रकार ४
" नमस्ते डाक्साप ! मेरो प्रेस्सूरको औषधी सकिएर आया हो ।  ५ दिन भयो ।  अस्ती आउँदा सकिएथ्यो । " उच्च  रक्तचापको उपचार जडिबुटी र मुख बारेर गर्ने जमात अझै प्रसस्तै छन् ।  बल्लतल्ल  परामर्श गरेर औषधी निशुल्क पाइन्छ  भनेर सेवन गर्न मनायो ।  नियमित सधैं नछोडी खानुपर्ने प्रेस्सरको औषधी बेलामौकामा सकिएर तनाब हुन्छ ।  कताबाट  त्यो निशुल्क सदाबहार नियमित उपलब्ध हुने हो ! प्रेसरलाई काम गर्ने औषधी "यम्लोडिपिन " नामको औषधी सरकारले निशुल्क दिने गरेको छ। जुन कुरा सर्हानिय छ ।  तर एउटा औषधीले प्रेस्सर नियन्त्रण  नभएर अर्को थप्नु पर्‍यो भने निशुल्कमा पाइँदैन ।  निशुल्क शब्दको छाप बसेको बिरामीले किन्न धौधौ  पर्छ ।

संबिधानले आधारभुत स्वास्थ्य सेवा सम्बन्धी हकको बारेमा प्रस्टै  बोलेको छ ।  निशुल्क सेवा दिन सक्नु त राज्यको लागि गौरबको बिषय हो ।  तर निशुल्क शब्दलाई धेरै हल्का रुपले लिएर प्रचार गरिँदा सोझो संपर्कमा बसेर काम गर्नुपर्ने स्वास्थ्यकर्मी तथा चिकित्सक लाई जनाताको  आशाअनुसार सेवा पुर्याउन नसक्दा अबिश्वासको बातावरण   सिर्जना भएको छ ।  र स्वास्थ्य सेवाको  प्रभाब्कारीता जनता र सेवा प्रदायकबिचको विश्वाशले मजबुत हुन्छ ।  बर्तमान अवस्थामा जनतामा आशा धेरै बाँडिएको र आशाअनुरुप कार्य हुन नसक्दा जनताबाट "नमस्ते डाक्साप" को लवजमा तितोपना मिसिँदै गएको अनुभब हुन थालेको छ ।

Comments

Popular posts from this blog

अन्नपूर्ण बेस क्याम्पको यात्रा आत्मसन्तुष्टि वा अहम् सन्तुष्टि !!

मृगौला रोगको एउटा गोठालो यात्रा

बाटो बिराएका रोगहरु ।